सरकार गम्भीर भएन, दशैँपछि आन्दाेलन गर्छाैँ : नेपाली कांग्रेस

 असोज ३०, २०७७ शुक्रबार १८:१०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएकोले दशैँलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताउनुभएको हो । कांग्रेसले गठन गरेको कोभिड–१९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दशैँलगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताउनुभएको हो । 

कोभिड–१९ सङ्क्रमणबाट नागरिककाे जीवन बचाउन सरकार जिम्मेवार नबन्दा सङ्क्रमण महामारीको रुपमा फैलिएको उहाँले बताउनुभयो । सरकार सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेको पनि सभापति देउवाले बताउनुभयो । औषधिको व्यवस्था, क्वरेण्टीन, आइसोलेशन, अक्सिजन, भेन्टिलेटरलगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनै पनि काम जिम्मेवारीपूर्वक नगरेको बताउनुभयो । 

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोभिड–१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताउनुभयो । उहाँले सरकारलाई जिम्मेवार बनेर काम गर्नसमेत आग्रह गर्नुभयो । कोभिड–१९ का कारण नागरिक समस्यामा परेको भन्दै उद्धार र राहतको समुचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन उहाँले माग गर्नुभयो ।  

कांग्रेसद्वारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति विज्ञ र कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा खटिएका व्यक्तिहरुसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोभिड–१९ सङ्क्रमण समुदायस्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया