दशैँ मानेर फर्कनुभयो कि गाउँमै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस्

 कात्तिक १६, २०७७ आइतबार ९:३०:४२ | डा. वासुदेव पाण्डे
unn.prixa.net

दशैँ सकियो । अब तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्व आउँदैछन् । दशैँमा जस्तै अब आउने चाडपर्वमा पनि मानिसको जमघट हुने गर्छ । यस्ता चाडपर्वका समयमा हामी कोरोना सङ्क्रमणको उच्च जोखिममा पर्छौँ।

एकातिर चाडपर्व,  अर्कोतिर जाडो मौसम । यो समयमा कोरोना सङ्क्रमणको जोखिम बढी नै हुने गर्छ । साधारणतया जाडो महिनामा कोरोना भाइरस निकै समय सतहमा बस्न सक्छ । चिसो मौसममा प्रायः घरको झ्याल ढोका बन्द गर्ने गरिन्छ । यसरी गुम्सिँदा पनि भाइरस लामो समय रहन सक्छ ।

जाडो मौसम त्यसमा पनि चाडपर्वको समय भएकाले अहिले सङ्क्रमणबाट जोगिन आवश्यक सतर्कता अपनाउनु पर्छ ।

अहिले गाउँमै रहेकाहरुले ध्यान दिनुपर्ने कुरा :

तुलनात्मक रुपमा गाउँमा भन्दा सहरको जनघनत्व ठूलो हुने गर्छ । हावा राम्रोसँग बहने, घाम लाग्ने, घर छ्ट्टाछुट्टै हुने भएकाले कोरोना सङ्क्रमणको सम्भावना सहरमा भन्दा गाउँमा कम हुने गर्छ। तर, चाडपर्व मनाउन गाउँ जानुभएकाहरुले पनि आवश्यक सतर्कता अपनाउनु पर्छ । सकेसम्म अरुको सम्पर्कमा नआउने र आउनै परे सामाजिक दूरी कायम गर्नुका साथै सतर्क भएर बस्नुपर्छ।

साथीभाइ जमघट गर्ने, रमाइलो गर्ने, समूहमा खानपिन गर्ने जस्ता क्रियाकलाप नगरि आफ्नै परिवारमा मात्रै सीमित हुँदा सङ्क्रमणको सम्भावना कम हुने गर्छ । हात राम्रोसँग धुने, स्यानिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने जस्ता सुरक्षाका मापदण्ड निरन्तर पालना गर्नुपर्छ ।

लामो समय बस्ने योजनाले गाउँ जानु भएकाहरुले कम्तीमा सात दिन अरुसँगको सम्पर्कमा नआइकन छुट्टिएर बसिदिनु पर्छ।

चाडपर्व मानेर सहर फर्केकाहरुले ध्यान दिनुपर्ने कुरा :

अहिले धेरै जना दशैँ मानेर सहर फर्किरहनु भएको छ । दशैँ मानेर सहर फर्किनु भएकाहरुले पनि घरबाट निस्किएदेखि नै सुरक्षाका उपाय अपनाउनु पर्छ । यात्राका क्रममा सकेसम्म आफ्नै गाडी प्रयोग गरेको रामो । सार्वजनिक गाडीमा आउनु परेमा आवश्यक सतर्कता अपनाउनु पर्छ ।

गाडीका चालक सहचालकले पनि गाडीमा भीडभाड नगरि सिट मिलाएर यात्रु राखिदिनु होला। गाडी चढिसकेपछि सम्भव भएसम्म समय समयमा हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने र झ्याल खुल्ला गर्ने गर्नुपर्छ । सहर आइसकेपछि कम्तीमा सात दिन अरुसँग छुट्टिएर बसिदिनु पर्छ । साथै अन्य सावधानीका उपाय निरन्तर रुपमा अपनाउनु पर्छ। सबैभन्दा महत्वपूर्ण कुरा मास्क हो, मास्क निरन्तर रुपमा लगाइ राख्नुपर्छ।

घरमा उमेर पुगेका वृद्धवृद्धा हुनुहुन्छ भने उहाँहरुको सम्पर्कमा सकेसम्म आउनु हुँदैन । पाका उमेरका आमाबुबामा कोरोना सङ्क्रणको सम्भावना उच्च हुने गर्छ ।  यो समयमा वृद्धवृद्धालाई सुरक्षित राख्नुपर्छ । 

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेसँग गरिएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. वासुदेव पाण्डे

डा. पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया