स्वास्थ्यले साथ नदिँदा वैदेशिक राेजगारी गुमेपछि गाउँमै ढाका कपडा उद्याेग सञ्चालन

 कात्तिक २४, २०७७ सोमबार ११:३९:५१ | रासस
unn.prixa.net

इजरायलमा स्याहारसुसार (केयर गिभर)का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उहाँले नेपाल फर्कने निर्णय लिनुभयो । नौ वर्ष प्रवासमा बिताएर घर्तीमगर घर फर्कनुभयो ।

यहाँ आएपछि थाइराइड फेरि बल्झियो । काठमाण्डाैको ह्याम्स अस्पतालमा पुनः शल्यक्रिया भयो । स्वास्थ्यले साथ नदिएपछि ४० वर्षीय घर्तीमगरले वैदेशिक रोजगारीबाट हात धुनुपर्यो । अढाइ वर्षअघि नेपाल फर्कनुभएकी उहाँले त्यसयता विदेशको मोहसमेत त्याग्नुभयो ।

थाइराइड निको भएपछि उहाँमा सीप सिकेर गाउँमै उद्यम गर्ने सोच पलायो । तमानखोला गाउँपालिका–३ की घर्तीमगरसहित छिमेकका महिला मिलेर ढाका बुनाइको तालिम लिने योजना बनाए । त्यसको अगुवाइ उहाँले नै गर्नुभयो । घरेलु तथा साना उद्योग कार्यालय बागलुङको सहयोगमा सङ्गम म्याग्दीले तालिम दियो ।

पन्ध्र दिनको तालिमबाट तमान गाउँका २० महिलाले ढाकाको कपडा बुन्ने सीप सिके । “सीप जानेपछि आयआर्जनमा लाग्नुपर्छ भनेर गत वर्षदेखि कपडा बुन्न थालेका हौँ”, घर्तीमगरले भन्नुभयो, “यसलाई ढाका कपडा उद्योगकै रूपमा चलाउने योजना छ ।” 

अहिले ११ वटा तान राखेर महिलाहरुले ढाका बुनिरहेका छन् । कल्याण आमा समूहको भवनमा छिर्दा लहरै तानमा महिलाहरु सीप चलाइरहेका देखिन्छन् । कोही तयार भएका कपडा मिलाइरहेका भेटिन्छन्, कोही एकार्कालाई सघाउँदै । 

ढाका बुन्ने सबै महिला सोही आमा समूहमा आबद्ध छन् । बीस जनाले तालिम लिए पनि १४ जनाले मात्र ढाका बुनाइलाई पेशाको रूपमा अँगालेको समूहका अध्यक्ष तनिमा घर्तीमगरले बताउनुभयो । “गाउँका दिदीबहिनीहरु स्वरोजगार बन्न खोज्दै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “वडा, गाउँपालिकाजस्ता निकायले पनि सघाउनुपर्छ ।”

उद्यमी नीलमाया घर्तीमगरले ढाका बुन्नका लागि तानलगायत उपकरण खरिद र व्यवस्थापनमा व्यक्तिगत लगानी परेको सुनाउनुभयो । “एक जनाको रु ५० हजारजति खर्च भएको छ, अहिलेसम्म कतैबाट पनि सहयोग आएको छैन”, उहाँले भन्नुभयो । ढाकाबाट सल, झोला, टोपी, खादा, इस्टकोटलगायतका कपडा तयार हुने गरेको नीलमायाले बताउनुभयो । 

अहिले उत्पादन भइरहेका कपडा गाउँमै खपत भएको उद्यमी बताउँछन् । ढाकाको कपडा बुन्न समय र मेहनत धेरै लाग्ने भएकाले सोहीअनुसार बजारको सुनिश्चितता गर्नु चुनौतीपूर्ण छ । एउट सलको न्यूनतम  सात सय देखि दुई हजार पाँच सय रुपैयाँ सम्म भाउ तोकिएको छ । कपडाको आकार र डिजाइनअनुसार भाउ तलमाथि हुन्छ ।

कोभिड–१९ का कारण कपडाको बिक्रीमा असर पुगेको उद्यमी जुनुमायाले बताउनुभयो । ढाका बुन्न चाहिने ऊनीको धागो समयमै ल्याउन पनि समस्या भइरहेको छ । कहिले काठमाडौँ त कहिले बुर्तिबाङ बजारबाट धागो आउँछ । उद्यम शुरु गरेको भर्खर एक वर्ष भएकाले नाफाको लेखाजोखा गर्न महिलाहरुले भ्याइसकेका छैनन् ।

तालिमलगायतका व्यवस्थापकीय खर्च भने उठेको जुनुमायाको भनाइ छ । “उत्पादन बढ्दै जाँदा बजार पनि व्यवस्थापन भयो भने राम्रो कमाइ हुन्छ”, उहाँले भन्नुभयो, “घरधन्दा भ्याएर फुर्सदको समय यसमा लगाउन पाउँदा हामी खुसी छौँ ।” शुरुको उत्पादन गाउँबाटै बिक्री भए पनि पछिलाई बजार चाहिने जुनुमायाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले गएकाे वर्ष समूहको भवनमा लगानी भएको बताउँदै यो वर्ष उद्यम विकासमा महिलाहरुलाई यथोचित सहयोग गरिने बताउनुभयो । “ढाकाको बिक्री कक्ष निर्माण हुन्छ या अरु नै माध्यमबाट भए पनि बजार व्यवस्थापनमा हामी सघाउँछौँ”, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया