'ग्लाेबल टाइम्स' ले भारतीय पार्टीकाे संज्ञा दिएकाे भन्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठकद्वारा निन्दा

 कात्तिक २८, २०७७ शुक्रबार १९:२२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिनियाँ आधिकारिक मुखपत्र ग्लोबल टाइम्समा आफ्नाे पार्टीलाई भारतीय पार्टी भनेर लेखेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निन्दा गरेको छ ।

बैठकका निर्णयहरू सुनाउँदै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले चिनियाँ आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले हुम्लाको सिमाना सम्बन्धमा आएको प्रतिवेदनलाई लिएर कांग्रेसलाई भारतीय पार्टीको संज्ञा दिएकाले बैठकले निन्दा गरेको बताउनुभयो ।

सहमहामन्त्री महतले कांग्रेस पार्टी चीन सरकारसँग राम्रो सम्बन्ध राख्दै आएको र उच्च महत्त्व दिएको तर राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डताकाप्रति समर्पित भएको र चीन मात्र नभएर जुनसुकै देशसँगको सम्बन्धमा समस्या देखिए बोल्ने  बताउनुभयो । यो विषयमा दुई देशका संयुक्त टोलीले ऐतिहासिक तथ्य, भोगचलनको तथ्य, सीमा स्तम्भको स्थिति सबैको मूल्याङ्कन गरेर निर्क्यौलमा पुग्न सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

यसबाहेक बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एकता प्रक्रियामार्फत आउनुभएका सुनिलबहादुर थापालगायतसँग भएको समझदारीअनुसार सहमहामन्त्री एवं केन्द्रीय सदस्यलगायतका पद दिने निर्णय पनि गरेको छ । यससँगै सुनिलबहादुर थापा कांग्रेसको सहमहामन्त्री बन्नुभएको छ ।

यस्तै कोभिड–१९ सङ्क्रमणका कारण देश आक्रान्त भएको अवस्थामा पनि सरकार बेखबर देखिएको र आफ्नो जिम्मेवारी निर्वाह नगरेको भन्दै नागरिकको उपचारको हकलाई नजरअन्दाज नगर्न बैठकले माग गरेको छ । कृत्रिम अभाव, महँगी, कोभिड सङ्क्रमणबाट नागरिक आक्रान्त भएको अवस्थामा जिम्मेवार बन्न सरकारसँग माग गरिएको पनि सहमहामन्त्री महतले बताउनुभयो । 

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएका समस्यामा सैद्धान्तिक सहमति भएको बताउनुभयो । पार्टीलाई विधिसम्मत, विधानको पद्धतिका आधारमा क्रियाशील सदस्य वितरण गर्ने सहमति भएको पनि बताउनुभयो ।

यस्तै तिहार लगत्तै कार्यसमिति बैठक बसेर सबै मुद्दामा छिनोफानो गर्ने कुरामा सहमति भएको पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया