२९ गते हुने विराेध प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई कांग्रेसकाे आह्वान

 मंसिर २५, २०७७ बिहिबार १४:४३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मङ्सिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । 

कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरूको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा र्‍याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्ने बारेमा छलफल भएको हो । ७७ वटै जिल्लामा गर्ने हो । काठमाण्डौमा, ललितपुरमा र भक्तपुरमा पनि गर्ने टुङ्गो लगायौँ । सल्लाह त्यही भएको छ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मङ्सिर १७ गते तनहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारीतर्फ गम्भीर छैन । नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरू नपाएर छटपटिरहेको बेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रित भएको छ । त्यसैले हामी २९ गते प्रदर्शन गर्दैछौँ । प्रदर्शन गर्दै गर्दा बिहीबारकाे बैठकले विशेष रूपमा देशभरि रहनुभएका पार्टी सदस्य, शुभचिन्तक सबैलाई सहभागी बन्नका लागि अपिल गरेको छ ।’

प्रवक्ता शर्माले याे सरकार बनेपछि बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रित हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार बने पछाडि निरन्तर बढिरहेको भ्रष्टाचार, स्वास्थ्य सामग्रीको खरिदसम्ममा भएको भ्रष्टाचारदेखि लिएर भ्रष्टाचारका अनेकन प्रकरणहरूको विरुद्ध सडकमा २९ गते उत्रिनलाई बैठकले अपिल गरेको छ ।’

प्रवक्ता शर्माले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकाङ्क्षा प्रस्ततु गरेको समेत बताउनुभयो । यस्तै बैठकले मोरङ जिल्लामा शिक्षक हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्नसमेत माग गरेको प्रवक्ता शर्माले बताउनुभयो । 

कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृत्ति, भ्रष्टाचार र कोभिडको कुव्यवस्थापनबाट सिर्जित अप्ठेरो अवस्थाको विरुद्धमा प्रदर्शन भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो २९ गते देशैभरि जिल्लामा विरोध कार्यक्रम हुन्छ । त्यो विरोध कार्यक्रम, सरकारको अधिनायकवादी प्रवृत्ति, भ्रष्टाचार र कोभिडको कुव्यवस्थापनबाट जुन अप्ठ्यारो स्थिति सिर्जना भएको छ, त्यसलाई केन्द्रित गरेर सरकारको विरुद्ध विरोध कार्यक्रम केन्द्रित हुन्छ । यो प्रारम्भ मात्रै हो ।’

२९ गतेको कार्यक्रमपछि पनि आन्दोलनलाई निरन्तरता दिने भन्ने कुरामा समेत छलफल भएको महतले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया