दुई महिनादेखि बन्द रहेको ओखलढुंगा–रुम्जाटार सडक खुलाउन पहल

 साउन ३०, २०७५ बुधबार १७:४३:१० | शिव ढुंगाना

ओखलढुंगा – दुई महिनादेखि अवरुद्ध रहेको ओखलढुंगा–रुम्जाटार सडक खुलाउन पहल थालिएको छ । कालोपत्रेको काम थालिएपछि त्यस सडकखण्डमा माथिबाट निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि गएको असारको पहिलो साताबाटै सडक खण्ड पूर्ण रुपमा बन्द थियो ।

सडक अवरुद्ध हुँदा आवतजावत र ढुवानीमा समेत समस्या आएपछि सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङ, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने र वडा अध्यक्षहरुको पहलमा अनुगमन गरेर सडक खोल्न निर्देशन दिइएको छ । स्विस सरकारको सहयोगमा कालोपत्रे थालिएको सडकको ठेक्का लिएको ठेकेदारले वर्षाको कारण देखाएर काम छोडेपछि सडकभन्दा माथिबाट खसेको पहिरोको कारण सडक अवरुद्ध छ ।

११.१ किलोमिटर सडकखण्ड कालोपत्रेका लागि जिम्मा लिएको तामाङ कुमार जेभी कन्ट्रक्सनले वर्षाको कारण भन्दै काम रोकेपछि सडकका विभिन्न स्थानमा पहिरो झरेको हो । सडक कालोपत्रेका लागि चौडा पार्ने क्रममा स्काभेटरले खनिएको अधिकांश स्थानमा पहिरो चलेको छ । 

पहिरो पन्छाएर सवारी आवागमन खुलाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । आयोजना प्रमुख समेतलाई ठेकेदारलाई काममा फर्काएर बाटो खुलाउन भनिएको उनको भनाई छ । 

आयोजनाका व्यवस्थापन विजयमुनि बज्राचार्यले वर्षाका कारण ठूलो पहिरो खसेको र पन्छाउँदा झन् बढी भूक्षय हुने भएकाले काम चुनौतीपूर्ण हुने जानकारी दिनुभयो । दुई खण्ड गरेर सवारी आवतजावत गर्न सकिने बनाउने उहाँले जनाउनुभयो । सडकको सिस्ने खोला खण्डमा ठूलो पहिरो खसेर हिँडडुल गर्न समेत नमिल्ने भएको छ । यो सडक अवरुद्ध हुँदा चिसंखुगढी गाउँपालिमा आवत जावत गर्न समेत समस्या छ । 

कुल १८ करोड ३० लाखको लागतमा तामाङ कुमार जेभी कन्ट्रक्सनले यो सडकखण्ड कालोपत्रे गर्ने ठेक्का लिएको थियो । सडकको ३.७५ मिटर चौडाईमा अलकत्रा र ७५–७५ सेमीको सोल्डर तथा १ मिटरको ड्रेन गरी ६.२५ मिटर रहने गरीकालोपत्रेको काम थालिएको थियो ।  
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया