बर्दियामा गैँडा गणना सुरु

 चैत १८, २०७७ बुधबार १४:२३:३५ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले बुधवार एक कार्यक्रमका बीच गैँडा गणना सुरु गरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बुधवार १८ गतेदेखि सुरु भएकाे गैँडा गणना १४ दिनसम्म चल्ने छ । गैँडा गणनाका लागि बर्दिया निकुञ्जका नाै र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को एक गरी १० वटा हात्तीको प्रयोग गरिएको छ । 

त्यसैगरी हात्तीसारका ३० जना, १० जना मुख्य गणक र १० जना सहायक गणक गरी ५० जना परिचालित भएका छन् । निकुञ्ज र एनटीएनसीका प्राविधिक टोलीसहितको गैँडा गणक खटिएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा पाइने कर्णाली नदी तटीय क्षेत्र र बबई नदी तटीय क्षेत्र एवम् आसपासका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गैँडा गणना गरिनेछ ।

गैँडा गणना कार्यमा गैँडासँगै गैँडाको बासस्थान एवम् अन्य वन्यजन्तुको अवस्थाबारे पनि जानकारी लिइनेछ । गणकहरूले गैँडा गणना गर्नका लागि जीपीएस, क्यामेरा, दुरबिनको प्रयोग गरेका छन् ।

सन् २०१५ मा गरिएको गणनाबाट बर्दिया निकुञ्जमा २९ वटा गैँडा रहेका थिए । निकुञ्जले गरेको आन्तरिक गैँडा अनुगमनका क्रममा ३६ वटा गैँडा रहेको जनाए पनि यसपटकको गणनाबाट बर्दियामा गैँडाको सङ्ख्या बढ्न सक्ने निकुञ्जले अनुमान गरेको छ । सरदर चारदेखि पाँच वर्ष अन्तरालमा देशभरि गैँडा गणना गर्ने गरिन्छ । 

गएकाे वर्ष कोभिड–१९ कोरोना महामारीका कारण रोकिएको गैँडा गणना कार्यक्रम ६ वर्ष पछि यस वर्ष सुरु गरिएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया