बर्दियामा माहुतेलाई आक्रमण गर्ने पाटेबाघ समातियो

 चैत २३, २०७७ सोमबार १०:१५:२४ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जभित्र आइतवार बेलुका गैँडा गणनामा खटिएका हात्तीका माहुतेलाई मार्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । 

राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले निकुञ्जभित्र पर्ने गैँडा मचान क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। 

योसँगै बर्दियाबाट पाँच वटा पाटेबाघ नियन्त्रणमा लिइएको छ । भुरिगाउँ क्षेत्रबाट नियन्त्रणमा लिइएको बुढो पाटेबाघ उपचारका क्रममा मरेको थियो । यस्तै नियन्त्रणमा लिइएकाे बाघहरुलाई बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्धारा र निकुञ्जको रम्मापुर क्षेत्रमा राखिएकाे छ । बाँके राष्ट्रिय निकुञ्जमा राखिएको पाटेबाघ भने खोरको सरिया बङ्ग्याएर भागेको थियाे । अहिले नियन्त्रणमा लिइएको बाघलाई जावलाखेल  चिडियाखाना लैजाने तयारी गरिएकाे छ । 

गैँडा गणना गर्न गएको टाेली रहेकाे हात्तीका माहुते पुलिसराम चौधरीकाे आइतवार  बेलुका निकुञ्ज भित्र गैँडा मचान क्षेत्रमा पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो । यसअघि चैत ३ गते पनि यसै क्षेत्र आसपासमा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । निकुञ्जको प्राविधिक टोलीले क्यामरा ट्रयापिङ गर्दा महिलालाई आक्रमण गर्ने र माहुतेलाई आक्रमण गर्ने पाटेबाघ एउटै भएकाे अनुमान लगाएकाे छ । 

अन्दाजी १० वर्षको भाले पाटेबाघलाई राति नै ​टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको हो । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई पाटेबाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ ।

नियन्त्रणमा लिइएको पाटेबाघले तीन हप्ताको अवधिमा दुई जनालाई आक्रमण गरेको निकुञ्जको अनुमान छ । 'माहुतेलाई आक्रमण गर्ने बाघ त यही नै हो । तीन हप्ताअघि यही क्षेत्रमा महिलालाई आक्रमण गर्ने बाघ पनि यही हुनसक्ने अनुमान छ' निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो।

माहुतेलाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया निकुञ्जको टोलीले राति नै बाघलाई नियन्त्रणमा लिएको जनाएकाे छ । नियन्त्रणमा लिइएको पाटेबाघलाई सदर चिडियाखाना काठमाण्डौ लैजाने तयारी थालिएको वार्डेन श्रेष्ठले बताउनुभयो ।

पाटेबाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविकमार्ग र राष्ट्रिय वन आसपासका क्षेत्रमा एक वर्षभित्र ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया