आजदेखि दोस्रो चरणको खोप अभियान, खोप लगाएपछि पनि सावधानी अपनाऔँ

 बैशाख ७, २०७८ मंगलबार ७:४१:४२ | डा . झलक शर्मा गाैतम
unn.prixa.net

काठमाण्डाै - गएको माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा कोभिशिल्ड खोप लगाइएको थियो ।

पहिलो चरणमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा आज वैशाख ७ गतेदेखि ११ गतेसम्म देशभर तोकिएका खोप केन्द्रबाट लगाइँदै छ । पहिलो मात्रा लिएकाहरुले खोप केन्द्रमा गएर दोस्रो मात्राको खोप लगाउनुपर्नेछ । 

खोप लगाउन जाँदा नागरिकले पहिलो मात्रा लगाउँदा दिएको खोप कार्ड लिएर जानुपर्छ । जिल्लाहरुमा खोपकेन्द्र तोकिएको हुन्छ, त्यहीँ गएर खोप लगाउनुपर्छ । खोप केन्द्रहरु बिहान १० बजेदेखि बेलुकी चार बजेसम्म खुल्छन् । आफ्नो पालो थाहा पाउनुपर्छ । पहिलो खोप लगाएका कसले कहिले खोप लगाउने भनेर स्वास्थ्य मन्त्रालयले यसअघि नै तालिका सार्वजनिक गरिसकेको छ । यदि थाहा नभए जिल्लामा रहेका स्वास्थ्य प्रमुखलाई सोध्नुपर्छ । 

त्यतिबेला अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शववाहन चालक, बैंकका कर्मचारी, सबै सरकारी कार्यालय, सार्वजनिक संस्थानका कर्मचारीहरु, पत्रकार, पालिकाका जनप्रतिनिधि, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, कूटनीतिक नियोगका कूटनीतिज्ञ र कर्मचारीहरुलाई खोप दिएका थियौँ । फागुन २३ पछि खोप लगाएकाले अहिले पाउने छैनन् । त्योभन्दा अघि पहिलो चरणमा पहिलो मात्रा लगाएकाहरुले मात्रै दोस्रो मात्रा खोप लगाउन पाउँछन् ।  

६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई पछिल्लो पटक खोप दिएकाले उनीहरुको पालो जेठमा मात्रै आउँछ । यो खोप पहिलो मात्रा लिएकाहरुले दोस्रो मात्रा पनि अनिवार्य रुपमा लिनुपर्छ । यदि तोकिएको दिनमा खोप लगाउन छुटेमा तत्काल खोप केन्द्रमा सम्पर्क गरेर खोप लगाउनुपर्छ ।

पहिलो प्राथमिकतामा परेर पनि खोप लगाउन छुटेको भए फेरि सरकारले आह्वान गरेपछि अर्कोपटक लगाउनुपर्ने हुन्छ । खोप प्राप्त भएपछि सरकारले फेरि खोप लगाउन छुटेकाहरुलाई पनि खोप लगाउन आह्वान गर्छौं । 

खोप लगाउनेमा सामान्य असरहरु देखिएको छ, तर यो सामान्य हो, यसबाट डराउनु पर्दैन । अहिले फेरि कोरोनाको दोस्रो लहर पनि आइरहेको छ । खोपले हामीलाई जटिलता हुनबाट जोगाउँछ, त्यसकारण सामान्य शरीर दुख्छ, वा टाउको दुख्न भनेर खोप लिन्न भन्नु आफैँले आफैंलाई खतरामा राख्नु हो भन्ने बुझ्नुपर्छ ।  

खोप लगाउँदैमा ढुक्क हुने स्थिति हुँदैन, यसले जटिलताबाट र सङ्क्रमण फैलिन कम गर्ने हो । शतप्रतिशत जोगिए भन्ने सोच्नु हुँदैन । पहिलो र दोस्रो मात्राको खोप लगाइसकेपछि पनि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातको सरसफाइ गर्ने गर्नुपर्छ । भीडभाडमा जानु हुँदैन । यस्ता कुराहरुलाई अनिवार्य अवलम्बन गर्नुपर्छ । 

(खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमसँग गरिएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा . झलक शर्मा गाैतम

 गाैतम स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया