कोरोना कहर : सुनसान छ गुराँसको राजधानी टीएमजे

 जेठ ११, २०७८ मंगलबार १५:२२:४४ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा — पूर्वी पहाडी जिल्लामा पर्ने सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने लालीगुराँसको राजधानी भनेर चिनिने तिनजुरे–मिल्के–जलजले (टीएमजे) अहिले सुनसान बनेको छ ।

यति बेला टीएमजे क्षेत्रका वनैभरि राताम्मे भएर लालीगुराँस फुलेका छन् । तर कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्टका कारण पर्यटक नभित्रिएपछि टीएमजे प्रायः सुनसान बनेको छ । सङ्खुवासभाको चैनपुर नगरपालिका १ अन्तर्गत पर्ने गुफापोखरी, सुकेटार, मेन्छायम डाँडा र मादी नगरपालिकाभित्र पर्ने चौकीमङ्गलबारे र धर्मदेवी नगरपालिकाको टुटे देउराली र पाथीभरा मन्दिर परिसरमा यो समय पर्यटक भरिभराउ हुन्थे ।

फाइल फाेटाे

चैत पहिलो हप्तादेखि जेठ पहिलो हप्तासम्म टीएमजे क्षेत्रमा दैनिक दुई/तीन सय जना आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दथे । दिनभर घुमफिर गर्ने, रमाइलो गर्ने र केही पर्यटक त्यहीँ रातसमेत कटाउँथे तर यो वर्ष आवागमन बन्द जतिकै भएको गुफापोखरीकी स्थानीयवासी मित्रकला खनालले बताउनुभयो । उहाँले यो वर्ष चैत महिनासम्म केही पर्यटक आउने गरे पनि अहिले सरकारले नै निषेधाज्ञा जारी गरेपछि सुनसान प्रायः भएको बताउनुभयो । 

समुद्री सतहदेखि दुई हजार आठ सय २९ मिटरको उचाइमा रहेको गुफापोखरी र आसपासका भौगोलिक सौन्दर्यले भरिपूर्ण बनावट हेर्न नै पर्यटकको घुइँचो नै लाग्ने गरेको थियो । टीएमजे क्षेत्रमा पर्यटक विशेषगरी मङ्सिरदेखि माघ महिनासम्म हिउँ खेल्न र फागुनदेखि जेठ पहिलो हप्तासम्म हिउँदको समयमा लालीगुराँस हेर्न आउने गर्दथे । केही समय अघिसम्म पनि जिल्लाभित्रका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको टोली, विद्यालयबाट शैक्षिक भ्रमण र स्थानीवासीसमेत समूह–समूहमा आउने गरेको स्थानीयवासी खनालको भनाइ छ । विराटनगर, धरान, इटहरी र काठमाण्डौदेखि समेत घुमफिर गर्न आउने गर्दथे ।

आन्तरिक तथा बाह्य पर्यटक लालीगुराँस हेर्न, फोटो खिच्न, सहर–बजारको भिडबाट केही समय ‘फ्रेस’ हुन आउने गरेका भए पनि यो वर्ष पर्यटक नआउँदा व्यवसाय नै सङ्कटमा परेको गुफापोखरीकी मित्रकला खनालले बताउनुभयो । ‘पहिले–पहिले अगाडि नै होटल तथा लज बुकिङ गर्नुपर्थ्यो । होटल तथा लज भरिभराउ हुन्थे । अहिले सुनसान छ’, खनालले भन्नुभयो, ‘कोरोनाले हाम्रो त व्यवसाय नै चौपट भयो । हाम्रो मुख्य पेसा नै होटल व्यवसाय भएकाले पर्यटक नआएपछि के खाने भन्ने समस्या हुन थालेको छ ।’  

टीएमजे क्षेत्रको मुख्य आकर्षण

पर्यटकीय क्षेत्र टीएमजेको मुख्य आकर्षण भनेको विश्वमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये २८ प्रजातिका लालीगुराँस एकै ठाउँ हेर्न पाउनु हो । टीएमजे क्षेत्र पुगेपछि विभिन्न जातका रङ्गीबिरङ्गी लालीगुराँस हेदा पर्यटक लठ्ठ हुने गर्दछन् । त्यसपछि उच्च हिमाली क्षेत्रमा गुफापोखरी, मेन्छायम डाँडा, सूर्योयद हेर्न, भीमसेनले बोकेको ढुङ्गा, रड गार्डेन, कञ्चनजङ्घालगायतका हिमशृङ्खला नजिकै देखिने, तमोर नदीको र्‍याफ्टिङ सजिलै देख्न सकिने, सानो पाथीभराको मन्दिर पनि यहाँको आकर्षण हो । यहाँको भौगोलिक बनावट, निगालोले निर्माण गरिएको र चित्राले छाएको परम्परागत घर तथा घरका छानो, स्थानीय जातका खानेकुरा तथा परिकार, उच्च हिमाली क्षेत्रको रहनसहन र बसोबासले पनि पर्यटकलाई आकर्षित गर्दछ ।  

अहिले टीएमजे क्षेत्रमा सडक यातायातसमेत बिस्तार भएकाले सहज भएको छ । अहिले गुफापोखरी र चौकीमङ्गलबारेसम्म गाडीमा पुग्न सकिन्छ । सदरमुकाम खाँदबारी र तुम्लिङटार विमानस्थलदेखि चैनपुर–मादी हुँदै गुफापोखरी पुग्न सकिन्छ । त्यस्तै चैनपुर—माम्लिङ—मुडेशनिश्चरेदेखि टुटे देउराली हुँदै टीएमजे क्षेत्र पुग्न सकिन्छ ।   

तस्बिर : नवीन गुरुङ/उज्यालाे 

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया