‘यति बेला स्वास्थ्यकर्मी त भगवान् झैँ भए’

 जेठ १३, २०७८ बिहिबार २०:१:१३ | भावुक योगी
unn.prixa.net

बर्दिया – वैशाख दोस्रो हप्तादेखि देशभर काेराेना भाइरसकाे नयाँ भेरियन्टकाे सङ्क्रमण फैलिन सुरु भयो । कोरोना सङ्क्रमण रोकथामका लागि जिल्ला–जिल्लामा निषेधाज्ञा लगाउन थालियो । कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या पनि बढ्न थाल्यो । सहरका ठूलठूला अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको चाप बढ्यो । त्यसपछि देशभर झैँ बर्दियाका पालिकाले पनि अस्थायी कोभिड अस्पताल निर्माण गर्न सुरु गरे । 

त्यही क्रममा ठाकुरबाबा नगरपालिका २ रानीपुरमा पनि वैशाखको झन्डै तेस्रो हप्तादेखि अक्सिजनसहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आयो । कोभिड अस्पतालका डाक्टर कुलदीप यादव, अहेब दीप बस्नेतसहित स्वास्थ्यकर्मी खटिए । त्यस्तै कोभिड परीक्षणमा नेउलापुर स्वास्थ्य चौकी ल्याब शाखाका कोरोना फाइटर बलबहादुर खत्रीसहितको टोली पनि कोरोना परीक्षणमा तीव्र गतिमा खटियो । 

यद्यपि बेला–बेला पीसीआर परीक्षण गर्ने भीटीएम किट र एन्टिजेन किटको समस्या हुन्थ्यो । ठाउँठाउँमा फोन गर्दै जेनतेन किटको व्यवस्था मिलाएर परीक्षणको दायरा बढाइयो । अक्सिजन सिलिन्डरको व्यवस्था मिलाउने क्रम पनि सुरु भयो । कोरोनाका सिकिस्त बिरामी थपिने क्रम बढ्यो । यहाँ मात्र सम्भव नभएपछि केही सङ्क्रमितलाई एम्बुलेन्समा अक्सिजन सिलिन्डरसहित बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा पठाउन थालियो ।   

कोरानाका सिकिस्त बिरामीलाई अक्सिजनसहित बेड मिलाउन बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् संवाद समूह बर्दियाका सदस्य अर्जुन सुवेदी, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी, केपी पोलिक्लिनीकका कृष्णप्रसाद पौडेल, नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबाका सभापति एवम् रेडियो टाइगरका समाचार प्रमुख यज्ञ नेपाल, समाजसेवी बद्री कठायत, गणेश थापा र संवाद समूह बर्दियाको पहल र समन्वय बाँकेका अस्पतालमा भइ रह्यो । 

भेरी अस्पताल नेपालगञ्ज एवम् बर्दियाका कोरोना फोकल पर्सन हिरो नरेश श्रेष्ठ, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापा, बर्दियाका पूर्वप्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, डाक्टर राजन पाण्डे, डाक्टर साङ्केत रिसाल, मेडिकल कलेज कोहलपुरका प्रशासन शाखाका सञ्जय पन्तलगायतको पहलमा बिरामीले समयमै अक्सिजनसहितको बेड र उपचार पाउन थाले । 

धेरैजसो बिरामी अहिले उपचारपछि घर फर्किसकेका छन् र उनीहरु भन्छन्– यतिबेला स्वास्थ्यकर्मी त भगवान झैँ भए । ‘कोरोना लागेपछि श्वासप्रश्वासमा समस्या हुँदा अस्पतालमा तत्काल बेड मिलाइदिन पहल गर्ने समाजसेवी र अक्सिजन लगाएर उपचार गर्ने स्वास्थ्यकर्मीले गर्दा श्रीमती बचाएर आएँ’, भावुक हुँदै विक्रम रावतले भन्नुभयो । 

केही गम्भीर बिरामीको भने उपचारकै क्रममा ज्यान गयो । जसमध्ये दुई जना ५ महिनाका गर्भवती र एक जना विवाह भएको १५ दिनका युवक थिए । 

नगरको कोभिड अस्पतालका लागि अक्सिजन सिलिन्डर तथा अन्य सामग्री बोक्न ठाकुरबाबा नगरपालिकाका उपमेयरले आफूले चढ्दै आएको गाडी कोभिड अस्पतालका लागि दिने घोषणा गर्नुभयो ।

ठाकुरद्वाराका व्यवसायी एवम् समाजसेवी कृष्णप्रसाद भट्टराई र बिना भट्टराईले पनि आफ्नो जीप कोभिड अस्पतालका लागि निःशुल्क दिने बताउनुभयो । यस्तै स्थानीय समाजसेवी लक्ष्मीकान्त शर्माले पनि आफ्नो कार ठाकुरबाबा १ का बिरामीलाई निःशुल्क बोक्न प्रयोग गर्ने घोषणा गर्नुभयो । 

कोरोना नयाँ भेरियन्ट फैलिन थालेपछि वैशाख तेस्रो हप्तासम्म बर्दियाका ८ वटै पालिकाबाट प्रमुख जिल्ला अधिकारीको अनुमतिमा पालो कुरेर नेपालगञ्जबाट अक्सिजन सिलिन्डर ल्याउनु पर्थ्यो । तर अहिले ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्ने नारासहित बर्दियामा अक्सिजन बैंक अभियान सुरु गरिएपछि अक्सिजन अभाव भएको छैन । 

नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमण देशैभरि फैलिएसँगै अक्सिजन अभाव भइरहेका बेला समाजसेवीको सक्रियता तथा जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको समन्वयमा सुरु गरिएको बर्दिया अक्सिजन बैंक सञ्चालनका लागि देश विदेशबाट अहिलेसम्म झण्डै २५ लाख रुपैयाँ जम्मा भइसकेको बर्दिया अक्सिजन बैंक सञ्चालन समन्वय समितिका संयोजक एवम् निर्माण व्यवसायी सङ्घका अध्यक्ष भेषराज पौडेलले बताउनुभयो । 

बर्दियामा अक्सिजनको सहज आपूर्तिका लागि बर्दिया अक्सिजन बैंकमा सहयोग आउने क्रम जारी छ । नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले बर्दिया अक्सिजन बैंकलाई एक लाख ५० हजार रुपैयाँ र नेता विनय रावलले एक लाख ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया