'जोनसन र एस्ट्राजेनाकाको खोप छिटै आउँछ'

 जेठ १६, २०७८ आइतबार ८:५७:११ | डा. तारानाथ पोखरेल
unn.prixa.net

कोरोना भाइरसविरुद्ध प्रभावकारी मानिएको कोभिसिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका झण्डै साढे १४ लाख ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रुपमा लगाउने गरी प्रक्रिया थालिएको छ । सकेसम्म  त उनीहरुलाई  दोस्रो डोज पनि कोभिसिल्ड नै लगाउने भनिएको हो । तर त्यो सम्भव हुने अवस्था देखिएन । 

भारतले कोभिसिल्ड खोप निर्यातमा प्रतिबन्ध लगाएपछि तत्काल नेपाल आउने सम्भावना नभएकाले त्यसको विकल्पमा  एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रुपमा  लगाउन लागिएको हो  । कोभिसिल्ड खोप नपाउने पक्का जस्तै भएपछि कोभ्याक्सले सरकारलाई कोभिसिल्डको विकल्प रोज्न आग्रह गरेको थियो ।  सरकारले कोभ्याक्सलाई एस्ट्राजेनेका वा जोनसन एण्ड जोनसनको खोप उपलब्ध गराइदिन सिफारिस गर्ने भएको छ ।

एस्ट्राजेनेकाको खोप ६५ वर्षमाथिका पहिलो डोज लगाएकालाई दोस्रो डोजको रुपमा लगाइने र जोनसन एण्ड जोनसनको खोप एक डोज मात्रै लगाए पनि हुने भएकाले कुनै पनि खोप नलगाएकालाई दिने तयारी छ । कोभिसिल्ड र एस्ट्राजेनेकाको खोप उस्तैउस्तै प्रक्रियाअनुसार बनेकाले पहिलो डोज कोभिसिल्ड लगाएकाले पनि दोस्रो डोज एस्ट्राजेनेकाको खोप लगाउँदा फरक पर्दैन । सरकारले गएको फागुन तेस्रो हप्ता ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप दिएको थियो । 

कोभिसिल्ड खोप भारतको सेरम इन्स्टिच्युटले  उत्पादन गरेको हो । पहिलो डोज खोप लगाउन पाएपछि खुसी भएका वृद्धवृद्धा अहिले दोस्रो डोजको पर्खाइमा छन् । विश्व स्वास्थ्य सङ्गठनले कोभिसिल्ड खोप ८ देखि १२ हप्तासम्मको अन्तरमा लगाए प्रभावकारी हुने भनेको थियो । त्यो अनुसार फागुन २३ देखिको खोप अभियानमा सहभागीले जेठ तेस्रो हप्तासम्म दोस्रो डोज लिइसक्नुपर्ने हुन्छ । 

त्यही समयमा दोस्रो डोज खोप नलगाएर एक/दुई हप्ता ढिला भएमा पनि खासै फरक पर्दैन ।  उनीहरु दोस्रो डोजको खोप आउने प्रतिक्षामा छन् । सरकारले कोभ्याक्स सुविधामार्फत् नेपालले पाउने खोप छिटोभन्दा छिटो उपलब्ध गराइदिन आग्रह गरेको छ । 

नेपालले खरिद गरेको भनिएको १० लाख मात्रा कोभिसिल्ड खोप भारतबाट आउने सम्भावना कम भएपछि विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित एस्ट्राजेनेकाको खोप माग गर्ने तयारी थालिएको हो। कोभिसिल्ड खोप उत्पादक कम्पनी भारतको सेरम इन्स्टिच्युटले सरकारको स्वीकृति नलिइकन बाहिर खोप निर्यात गर्न नसक्ने जनाएको छ  । 

सेरम इन्स्टिच्युटले खोप निर्यात गर्न नसकेकाले कोभ्यासले यसको विकल्प छान्न नेपाललाई आग्रह गरेको थियो । एस्ट्राजेनेका, जोनसन एण्ड जोनसन र फाइजर कम्पनीमध्येबाट विकल्प खोज्न आग्रह गरेकाले फाइजर कम्पनीको खोप नेपालका लागि उपयुक्त नहुने देखिएकाले राष्ट्रिय खोप सल्लाहकार समितिको  छलफलपछि अरु दुई कम्पनीको  छनोट गरिएको हो । 

अमेरिका, बेलायत, युरोप र कोरिया जुनसुकै देशमा उत्पादन भएको एस्ट्राजेनेका र जोनसोन एण्ड जोनसनको खोप छनोट गरिएको हो । पहिलो डोज खोप लगाएका झण्डै साढे १४ लाख जनालाई दोस्रो डोज लगाउनका लागि  एस्ट्राजेनेकाको खोप अनिवार्य चाहिन्छ ।  जोनसन एण्ड जोनसनको खोप  नयाँलाई लगाउनका लागि प्रयोग गर्ने योजना बनाइएको छ ।  

विश्वभरी खोपको  माग धेरै छ । एउटा मात्रै कम्पनी विकल्पको रुपमा छान्दा उपलब्ध हुन सक्दैन कि भनेर दुई वटा कम्पनी छनोट गरिएको हो । जोनसन एण्ड जोनसोन कम्पनीको खोप विभिन्न देशमा निर्यात भइरहेकाले उपलब्ध हुने सम्भावना धेरै भएकाले यो खोप पनि रोजिएको हो ।  

दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा  राखिने भएकाले नेपालमा भण्डार गर्न सजिलो छ । हाम्रो क्षमताले भ्याउँछ । अरु खोप जुन सिस्टमा राखिएको छ त्यही सिस्टमा थपक्क लगेर राख्ने हो । अरु थप व्यवस्था केही गर्नु पर्दैन। यी खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई फेरि तालिम दिनु पर्दैन ।  पहिला दिएको तालिमले नै काम गर्छ । एस्ट्राजेनेकाको खोप धेरै महँगाे पनि छैन ।  तुलनात्मक रुपमा सस्तो छ । एक डोजको दुईदेखि १० डलरसम्म पर्छ ।

जोनसन एण्ड जोनसन पनि तीनदेखि १०, ११ डलरमा पाइन्छ । यो एक डोज लगाए मात्र हुने भएकाले सजिलो पनि हुन्छ । समय र  खर्च बच्ने भएकाले फाइदा हुन्छ । यस्तै चीनबाट ल्याउन लागिएको भेरोसिल खोपबारे आधिकारिक जानकारी भइसकेको छैन । आधिकारिक जानकारी आइसकेपछि कहिले आउने, कसरी ल्याउने र कुन उमेर समूहकालाई लगाउने  भन्नेबारे निर्णय हुन्छ ।  

चीनबाट ल्याउने भनिएको १० लाख डोज खोप आइसकेपछि पाँच लाख जनालाई दुई डोज लगाउन पुग्छ ।  ५५ वर्ष उमे भन्दा माथिको समूह ठूलो भएकाले  पाँच लाख डोज खोपले नपुग्न सक्छ । त्यही भएकाले सम्भवत ६० वर्षभन्दा माथिकालाई  लगाइन्छ होला । चीनबाट जुन महिनाको सुरुमै आउने भन्ने छ । यसको अर्थ छिट्टै नै आउँछ होला ।

(स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलसँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. तारानाथ पोखरेल

डा. तारानाथ पोखरेल स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया