सरकारले लकडाउनलाई सत्ता जाेगाउने सुरक्षा कवच बनायाे : नेपाली कांग्रेस

 असार ३, २०७८ बिहिबार २०:२०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचका रूपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । बिहीवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाशशरण महतले सरकारकै उदासिनता र अर्कमण्यताका कारण कोभिड–१९ को सङ्क्रमण फैलिएकाे र लकडाउन गर्नुपर्ने स्थिति आएको भन्दै लकडाउनलाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचका रूपमा प्रयोग गरिरहेको बताउनुभयो । 

सरकारकाे याे व्यवहारकाे नेपाली कांग्रेसको बैठकले निन्दा गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनको अवस्थामा नागरिकहरू जति नै सरकारसँग असन्तष्ट भए पनि सडकमा निस्किन सक्ने अवस्था छैन, त्यसलाई उहाँहरूले आफ्नो सत्ता जोगाउने कवचको रूपमा लिइरहनु भाछ । उहाँहरूलाई विराेधमा काेही निस्किन सक्दैन र यसले हाम्राे सत्ता झन् सुरक्षित भयाे भन्ने छ ।’

बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने गरी प्रस्ताव पेस भएको छ भने पालिकाकाे महाधिवेशन साउन १२ गतेबाट गर्ने प्रस्ताव छ । यसबारे छलफल गरेर निष्कर्ष निकालिने नेता महतले बताउनुभयो ।

महाधिवेशनको सम्बन्धमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यता विवादकै कारणले महाधिवेशन प्रभावित नहुने बताउनुभयो । उहाँले छिट्टै नै क्रियाशील सदस्यको सम्बन्धमा परेका उजुरीमाथि छलफल गरेर अन्तिम नामावली निकालिने जानकारी दिनुभयो । 

बैठकले सिन्धुपाल्चोकको बाढीको घटनामा दुःख प्रकट गर्दै तिनै तहको सरकारलाई पूर्ण प्राथमिकताका साथ उद्धार र राहतमा लाग्न भनेको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया