आफैँले ओढेकाे रेनकाेट माेटरसाइकलकाे पाङ्ग्रामा बेरिँदा 'सुमन' काे ज्यान गयाे

 भदौ ६, २०७८ आइतबार १४:२३:१० | सुवास दर्नाल
unn.prixa.net

मृतक सुमन राई

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुसहित धेरै ठाउँमा हिजाे शनिवार बिहानैदेखि धुम्मिएको मौसम, मध्याह्नपछि पानी पर्न सुरु भयो । पानी परिरहँदै माप्यदूधकोसी गाउँपालिका २ का ३० वर्षीय युवक सुमन राई मोटरसाइकलमा सल्लेरीतर्फ अघि बढे । ग्रामीण सडक त्यतिकै जोखिमयुक्त नै थियो अझ निरन्तरको वर्षाले सडक हिलाम्मे बनेको थियो ।

पानी परेकाे समयमा बासाबाट सल्लेरीतर्फ बा ५४ प ७८२९ नम्बरको २२० सीसीकाे पल्सर मोटरसाइकलमा निस्किएका सुमनले ओतका लागि रेनकोटको सहारा लिएका थिए । तर त्यही रेनकोटले उनको ज्यानै लियो । सुमनलाई के थाहा र वर्षाकाे दर्किँदो झरीबाट बच्न प्रयोग गरिएको रेनकोटले नै ज्यान लिन्छ भन्ने !

प्रत्यक्षदर्शी सुकुमाया राईका अनुसार माप्यदूधकोसी गाउँपालिकाको दियाले सडक खण्ड अन्तर्गत वडा नम्बर ५ कागतेमा पुगेपछि सुमनले ओढेकाे रेनकोटको पछिल्लो भाग मोटरसाइकलकाे पछाडिकाे पाङ्ग्रामा बेरिन पुग्यो । रेनकोट लामो भएका कारण पछाडिको चेन तथा टायरमा बेरियो । टाउकोसहित जिउ ढाक्ने गरी ओढेकाे रेनकोट बेरिएको केही समयमै सुमन भुइँमा ढले, रेनकोट घाँटीमा पासो लाग्दा उनको घटनास्थलमै ज्यान गयाे । 

घटनास्थलमा पुगेका प्रहरीका अनुसार मृतक सुमनको घाटीमा रेनकोटले बेरिएको दाग देखिएको छ भने शरीरका अन्य भागमा चोट छैन । सुमनको मात्र हैन ग्रामीण भेगलगायका सडकमा सञ्चालन हुने मोटरसाइकलमा प्रयोग हुने रेनकोटले दुर्घटनाको जोखिमलाई उच्च बनाइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालले बताउनुभयो ।

पानी छल्न प्रयोग गरिने रेनकोट मोटरसाइकल, स्कुटरको चेन टायरमा बेरिँदा यस्ता दुर्घटना निम्तिन सक्ने डीएसपी कटवालको भनाइ छ । कतिपय ठाउँमा महिलाले लगाएको साडी, सल माेटरसाइकल र स्कुटरकाे चेन तथा टायरमा बेरिँदा पनि थुप्रै दुर्घटना भएको उदाहरण छन् ।

सवारी साधन चलाउँदा तथा यात्रा गर्दा यस्ता विषयलाई ख्याल गरिएन भने मानिसको ज्यानै जान सक्ने भएकाले सतर्कता अपनाउन डीएसपी कटवालको सुझाव छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया