पेट्रोलियम पदार्थ उत्खननमा चासो दिन अध्यक्ष ओलीको आग्रह

 भदौ ६, २०७८ आइतबार १६:११:२५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थ उत्खननकाे सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गर्नुभएको छ ।

त्यहाँ पेट्राेलियम पदार्थ उत्खनन भएपछि देशकाे आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने भएकाले यस काममा ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । अध्यक्ष ओलीको निवास बालकोटमा कर्णाली प्रदेशका नागरिक र पत्रकारसँग आज भएको भेटघाटमा उहाँले ठूला पूर्वाधार विकास समयमा सम्पन्न भएमा त्यसको लाभ नागरिकलाई हुने भएकाले यस्ता काममा निरन्तर खबरदारी गर्न आग्रह गर्नुभयो । 

अध्यक्ष ओली प्रधानमन्त्री हुँदा दैलेखको नाभिस्थान, शिरस्थान, पादुका, धुलेश्वर, कोटीलालगायतका क्षेत्रमा चीन सरकारसँग जीटुजी सम्झौता गराइ सम्भाव्यता अध्ययनको काम थालिएको थियो ।

भेटमा अध्यक्ष ओलीले कर्णालीले दैलेखमा भएको पेट्रोल खानीको उत्खनन, मुगुको रारा तालको प्रवर्द्धन, हुम्ला हुँदै मानसरोवर जाने मार्गको विकास, डोल्पा, मुगु र हुम्लामा पाइने जीवनबुटी (यार्सागुम्बा) लगायतका बहुमूल्य जडीबुटीको बुद्धिमतापूर्ण सङ्कलन र प्रशोधनको कामको थालनी भएमा त्यस प्रदेशको पहिचान नै बदलिने बताउनुभएको भेटमा सहभागी दैलेखका पत्रकार विष्णु शर्माले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश स्रोत, साधनमा धनी भएकाले हावाबाट बिजुलीको उत्पादन, जडीबुटीको पहिचान र प्रशोधन पनि गर्न सकिए प्रदेशका साथै देशकै समृद्धि हुने भएकाले आफूहरूले राजनीतिक नेतृत्वलाई निरन्तर ध्यानाकर्षण गराउने त्यस प्रदेशका पत्रकार नवराज महताराले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया