बालबालिकालाई नियमित खोप लगाउन छुट्ला नि !

 भदौ १८, २०७८ शुक्रबार १०:५३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना महामारीको जोखिम कम भएको छैन । कोरोना नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी माध्यम जनस्वास्थ्यका मापदण्डको पालना  गर्नु र कोरोनाको खोप लगाउनु भएको विज्ञले बताउँदै आएका छन् । तर पछिल्लो समय सरकार र सम्बन्धित निकायको ध्यान कोरोनाको खोपतर्फमात्रै केन्द्रित हुँदा बालबालिकाको नियमित खोप सेवा भने प्रभावित भएको छ ।  

बालबालिकाको खोप सेवाका लागि आवश्यक स्वास्थ्यकर्मी, स्वास्थ्यस्वयंसेविका, खोप केन्द्र, खोप ढुवानी गर्ने साधन अहिले कोरोनाको खोप अभियानका लागि पनि प्रयोग भइरहेका छन् ।

कोरोना र नियमित गरी दुई वटै खोप अभियानलाई सन्तुलन मिलाएर लैजानु परेकाले केही समस्या भए पनि  नियमित खोप सेवा पनि सञ्चालन भइरहेको छ । तर कतिपयले कोरोनाका कारण आफ्ना बालबालिकालाई खोप केन्द्रसम्म लैजान डराएर नियमित खोप लगाउनबाट बालबालिका वञ्चित हुन्छन् कि भन्ने चिन्ता सरकारलाई छ। 

दुईवटै खोप अभियान निरन्तर अगाडि बढाउनुपर्ने अवस्था अहिले छ । कोरोना महामारी विरुद्ध लड्नका लागि कोरोनाको खोपलाई मात्र ध्यान दिँदा नियमित खोप छुटेका कारण भोलि अर्को महामारीको सामाना गर्नुपर्ने अवस्था आउन सक्छ। 

बालबालिकामाथि हुन सक्ने अरु सङ्क्रामक रोग विरुद्ध सचेत भएर नियमित खोप लगाउने कुराहरुमा सावधान भएनौँ भने भोलिका दिनमा अप्ठ्याराहरू आउन सक्छन् । यस्तै कुराहरुलाई बुझेर नियमित खोप अभियानलाई निरन्तरता दिने गरी सरकारले प्रबन्ध गरिराखेको छ । विभिन्न कारणले गर्दा केही अप्ठ्याराहरु पनि भइरहेका छन् । ती अप्ठ्याराहरुलाई समाधान गर्ने गरी सरकारले काम गरिरहेको छ ।  

हामी समाजका अग्रज, बुझेका व्यक्तिहरुले पनि नियमित खोप लगाउने विषयमा सहजीकरण गर्नु आवश्यक छ । हाम्रो घर वरपर अथवा आफन्त कोही नियमित खोप लगाउनबाट वञ्चित हुन लागेका छन् भने त्यसतर्फ ध्यान दिएर सहयोग गर्नुपर्छ ।  यस्तै स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग सल्लाह र परामर्श गरेर सबैलाई समेट्ने प्रयास गर्नुपर्छ। 

हामी एकातिर कोरोनासँग डराइराखेका छौँ । कोरोनाको जोखिम उच्च नै छ । तर कोरोनाको जोखिम छ भन्दैमा नियमितको खोप अभियानबाट बालबालिकालाई वञ्चित गराउनु हँदैन । गर्नै पर्ने कामहरुलाई प्राथमिकतामा राखेर गर्नुपर्ने हुन्छ । 

जस्तै, एक महिनाभित्र लगाउनुपर्ने खोपहरु एक महिनाभित्र लगाउन सकेनौँ भने वा  १५ महिनाभित्र लगाउनुपर्ने खोपहरु समयमै लगाउन सकेनौँ भने त्यो उमेर फेरि फर्केर आउँदैन । र त्यसले समस्या निम्त्याउन सक्छ। 

खोपले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ । अभिभावकले यी कुरा बुझ्न जरुरी छ । विभिन्न कारणले नियमित खोप लगाउन छुटेको भए स्थानीय स्वास्थ्यसंस्थासँग सम्पर्क गरेर,  खोप लगाउन छुट्नुको कारण बताउनुपर्ने हुन्छ।

बालबालिकाका लागि लगाइने नियमित खोपहरु जुन-जुन समयमा लगाउनुपर्ने हो, त्यही समयमा लगाएनौँ भने फेरि त्यसले बालबालिकालाई सङ्क्रमण हुन सक्ने जोखिम रहन्छ । दादुरा लगायतका रोग फैलिएर अर्को महामारी आउन सक्छ । समस्याहरु बढ्न सक्छन् ।

टिटानस लगायतका अरु स्वास्थ्य समस्या फेरि बढ्न सक्छन् । पोलियोको समस्याहरु फेरि बढ्न सक्छन् । नियमित खोप अभियानबाट धेरै रोगहरुलाई जित्न सकिन्छ । खोप लगाउन बालबालिका छुटेमा रोग निवारण गर्ने सरकारको लक्ष्य पूरा हुन सक्दैन ।   

यस्ता छन् बालबालिकामा लगाइने नियमति खोप

-  बी.सी.जी :- यो खोप जन्मनासाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ । क्षयरोगका साथै भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धी सङ्क्रमण र शरीरको प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।

-  डी.पी.टी/ हेपाटाइटिस बी.हीब :- यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमाफिलस बी बाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ । 

-  पी.सी.भी. :- यो खोप बच्चा जन्मिएको ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । यो खोप तीन पटक दिइन्छ । यसले निमोनियाबाट बचाउँछ ।

-  पोलियो :- पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियो माइलाइटिसबाट जोगाउँछ ।

-  दादुरा रुबेला :- यो खोप जन्मिएको ९ महिनादेखि एक वर्ष भित्रको उमेरमा दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।

-   टीडी–टीटी :- यो खोप गर्भवती महिलाहरुलाई दिइने गरिन्छ । यसले धनुष्टङ्कार र भ्यागुते रोगबाट बचाउँछ ।

-   जे.ई :- यो खोप १२ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई दिइन्छ । यसले जापानिज इन्सेफ्लाइटिसबाट बचाउँछ ।

(स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीसँग गरिएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया