सङ्खुवासभा हत्या प्रकरण : ८५ वर्षीय वृद्ध जाेगिए

 भदौ २१, २०७८ सोमबार २०:२३:४१ | नवीन गुरुङ
unn.prixa.net

मादीकाे उम्लिङ गाउँ र घटनास्थल


सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोलागाउँमा सोमवार बिहान ६ जनाको शव फेला परेको छ ।

एकै परिवारका ६ जनाको हत्या भएको हो भने घरमुली ८५ वर्षीय बौदमान कार्की भने सकुशल नै रहेका छन् । हत्या हुनेमा स्थानीयवासी ८४ वर्षीया पार्वती कार्की, उहाँका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी छोरी ३२ वर्षीया रञ्जना कार्की, छोरा ११ वर्षीय दिपेन कार्की र छोरी सात वर्षीया गोमा कार्कीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार एकै परिवारका ६ जनाको विभत्स तरिकाले धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । घटनाको प्रकृति हेर्दा कसैले दौडाइ–दौडाइ हत्या गरेको जस्तो देखिन्छ । शवहरू घरको आँगन र खरबारीतिर यत्रतत्र छरिएको अवस्था फेला परेको छ । घटनाबारे प्रारम्भिक अनुसन्धानबाट एकै जनाले घटना घटाएकोजस्तो नदेखिने प्रहरीको भनाइ छ । ‘घटनाको जानकारी प्राप्त हुनेबित्तिकै सोमवार दिउँसो घटनास्थलमा पुगेर घटनाको प्रारम्भिक छानबिन सुरु भइसकेको छ । अहिले नै कसले, किन र कसरी हत्या गरे भन्ने यकिन गर्न सकिने अवस्था छैन’, डीएसपी सुवेदीले भन्नुभयो, ‘अहिलेसम्म शव जाँच गरिएको छैन । घटनास्थलमा तारबार गरेर राखिएको छ । धरानबाट तालिम प्राप्त कुकुरसहितको विज्ञ टोली आएपछि मात्रै शव हेर्ने काम हुन्छ ।’
जिल्ला सदरमुकाम खाँदबारीबाट झन्डै ५/६ घण्टाको दुरीमा घटनास्थल पर्दछ । 

घटनाबारे सङ्खुवासभाका प्रजिअ टेकनारायण पौडेल : 

प्रारम्भिक घटना हेर्दा हत्या भएको जस्तो देखिएको छ । प्रायः सबै शव घोप्टो परेको अवस्थामा भेटिएको छ । जिल्लाबाट डीएसपी लालध्वज सुवेदीको नेतृत्वमा टोली परिचालन भएको छ भने सङ्घीय इकाइ अन्तर्गत धरानबाट तालिम प्राप्त कुकुरसहितको विज्ञ प्रहरी टोली घटनास्थलमा आउँदै गरेको अवस्था छ ।

यस्तै अभियुक्तहरू भाग्न नपाओस् भनेर जिल्लाका सबै सम्भावित नाका र छिमेकी जिल्लामा समेत जाँचलाई कडाइ गर्न अनुरोध गरिएको छ । आज रात परेकाले विस्तृत विवरण भोलिमात्रै आउने देखिन्छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया