चाडपर्वका बेला गाडी दुर्घटना बढ्दै

 असोज २८, २०७८ बिहिबार ७:०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

अछाममा भएकाे जीप दुर्घटना

काठमाण्डाै - दशैँ सुरु भएसँगै दुर्घटना बढेका छन् । पछिल्लो पाँच दिनमा मात्रै दुर्घटनामा परेर ४० जनाको ज्यान गएको छ ।

मुगुमा अस्ति भएको दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो भने सोमवार कास्कीको घान्द्रुकमा भएको दुर्घटनामा आठ जनाको ज्यान गएको थियो । हरेक वर्षको चाडपर्वमा यस्ता दुर्घटना हुने गरेका छन् ।

चाडपर्वको समयमा यात्रुको आवतजावत धेरै हुने गरेकाले र यही समयलाई व्यवसायीले कमाउने राम्रो सिजनको रुपमा लिने गरेकाले चाडबाडको समयमा दुर्घटनाका घटना धेरै हुने गरेका ट्राफिक प्रहरीले जनाएको छ । यसरी गाडी दुर्घटना हुनमा अरु पनि थुप्रै कारण भएको विज्ञले बताएका छन् ।

क्षमताभन्दा धेरै यात्रु बोक्दा, तीव्र गतिमा गाडी चलाउँदा, लामो दूरीमा पनि एउटै चालकले गाडी चलाउँदा दुर्घटनाको जोखिम हुने गरेको उनीहरुको भनाइ छ । यस्तै सडकको जीर्ण अवस्था, पहिरो खस्ने, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता कारणले पनि दुर्घटना हुने  गरेको छ ।  

सरकारले हरेक वर्ष चालक र सहचालकलाई परिचयपत्रको व्यवस्था गर्न, लामो दूरीमा आलोपालो चलाउने गरी चालक राख्न तथा छतमा यात्रुको झिटीगुण्टाबाहेक व्यावसायिक सामान नराख्न निर्देशन दिने गरेको छ। तर, नियमको पालना नहुँदा चाडपर्वका बेला हुने दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका दुर्घटनाप्रति दु:ख व्यक्त गर्नु भएको छ। यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएको दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने घोषणा गर्नु भएको छ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया