राम्रा काम गर्दै थियाैँ, काेराेना खाेप आइरहेकाे थियाे, षड्यन्त्र गरेर सरकारबाट हटाए : अध्यक्ष ओली

 पुस २६, २०७८ सोमबार २०:२१:१९ | नवीन गुरुङ
unn.prixa.net

एमाले सङ्खुवासभाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओली । तस्बिर नवीन गुरुङ/उज्यालाे

सङ्खुवासभा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले षड्यन्त्रपूर्वक एमालेको सरकार हटाएर परमादेशको सरकार बनाएको बताउनुभएको छ ।

आज सोमवार नेकपा एमाले सङ्खुवासभाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको लोकप्रियता देखेर षड्यन्त्र गरेर हटाएको आरोप लगाउनुभयो । उहाँले एमालेको लोकप्रियता देखेर देशी–विदेशी प्रतिपक्षी शक्तिहरू लागेर एमालेको सरकारलाई हटाएको टिप्पणी गर्नुभयो । 

‘हामीले काम गर्न नसकेर हटाइएको होइन, राम्रा काम गरेकै कारणले हटाइएको हो’, ओलीले थप्नुभयो, ‘हामीले हाम्रो पालामा राम्रा कामहरू गर्दै थियौँ, कोभिड–१९ खोप र उपकरणहरू आउने क्रम भइरहेको थियो । दक्षिण एसियामा नै राम्रो काम गरेको भनेर प्रशंसा भइरहेको समयमा कम्युनिस्टका खोल ओढेका नक्कली कम्युनिस्टका कारण समस्या उत्पन्न भयो, तर अब हामी आउने चुनावमा त्यो पनि देखाइ दिन्छौँ ।’

उहाँले षड्यन्त्र गरेर जनादेशबाट नभइ परमादेशबाट एमाले सरकार हटाए पनि जनता नै सर्वशक्तिमान् भएकाले आउने चुनावमा त्यसको परिणाम देखिने समेत बताउनुभयो ।

‘आमजनसमुदायहरू सचेत रहनुहोस्, यो सरकार पालिका चुनाव नगराइ, जनप्रतिनिधीविहीन बनाइ कर्मचारीलाई सुम्पिने तयारीमा लागेको षड्यन्त्र भइरहेको देखिन्छ’, ओली भन्नुभयो, ‘कानुनअनुसार फागुनमा चुनाव हुनुपर्नेमा सरकारले कुनै तयारी नगरेको देखिएकाले नहुने स्पष्टै छ, चरणबद्ध पालिकाको चुनाव हुँदा पनि पहिलो चरणको चुनावलाई समय मानेर त्यसभन्दा दुई महिनाअघि चुनाव हुनुपर्ने हो । फागुनमा पालिका चुनाव गरिसक्नुपर्ने छ तर फागुनमा चुनाव गर्ने कुनै सम्भावना छैन । किनभने यो सरकार लुटामारमा लागेको छ । चुनावतिर होइन ।’

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सङ्खुवासभा पर्यटकीय हिसाबमा सौन्दर्यले भरिपूर्ण र विकासका सम्भावना अथाह रहेको बताउनुभयो । उहाँले जोगमुनीदेखि किमाथाङ्का नाका नेकपा एमालेको केपी सरकारको पालामा आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गरेर अघि बढाएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

1 Comments

  • Srijana

    Jan. 10, 2022, 8:33 p.m.

    लाज नभएका नेता केपी ओली ....आफ्नी अक्षमताजति ढाकछोप गरे पनि छोपिन्न अब के गर्ने ? आफुले पाएको अवसर आसेपासेलाई पोस्न मात्र प्रयोग गरेपछि अब उफ्रेर के गर्ने ?

  •  0 Reply

तपाईको प्रतिक्रिया