पोखरा महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय : ल्यान्डफिल साइट सार्ने

 जेठ २७, २०७९ शुक्रबार १८:६:४७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाको पहिलो कार्यापालिका बैठकले विभिन्न निर्णय गरेको छ । कार्यपालिका बैठकले ल्यान्डफिलसाइट पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ । पोखरा १५ मा रहेको ल्यान्डफिलसाइट नसार्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सकिएको छैन ।  

पोखरामा एक वर्षभित्रमा विभिन्न ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने र यसरी शौचालय निर्माण गर्ने अवधिसम्मका लागि बैंक, होटल, विभिन्न सङ्घ–सस्था र रेस्टुरेन्टका शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन दुई पक्षीय सम्झौता गर्ने निर्णय पनि भएकाे छ ।

त्यसैगरी पोखरा महानगरपालिकाले तत्काल आपत्कालीन सेवा सञ्चालनमा ल्याउने भएको छ । सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्ने गरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने बैठकले निर्णय गरेको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिनुभयाे । पूर्वाधार तयार पार्ने र कामलाई अगाडि बढाउने काम सुरु गरिएको उहाँले बताउनुभयाे । 

मेयर धनराज आचार्यको योजनाअनुसार नागरिकले महसुस गर्ने खालका कार्यक्रम अगाडि बढ्ने प्रवक्ता रिज्यालले दाबी गर्नुभयाे । 

प्रमुख प्रशासकीय अधिकृत रिज्यालका अनुसार पोखरा महानगरमा विभिन्न समिति गठन भएका छन् । त्यसैगरी महानगरले तालचोक–बेगनास सडकको निर्माणको ठेक्का बोलपत्र स्वीकृत गरेको छ । झन्डै चार लेनकाे तीन किलोमिटर सडक निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ ।

पोखरा महानगरको प्रशासकीय भवन निर्माणका लागि जग्गा छनोट गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । वडाध्यक्षहरू दिवशमान प्रधानंग, राधिका शाही र पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङ रहेको समितिले अध्ययन गरेर अर्को कार्यपालिका बैठकमा भवन निर्माणका लागि ठाउँ सिफारिस गर्ने उहाँले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया