जनकपुर अस्पतालका दुई चिकित्सकले दोषी उम्काउन बालिका बलात्कारको गलत रिपोर्ट दिएपछि ...

 असोज ९, २०७५ मंगलबार १७:४५:२८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – बलात्कारीलाई उन्मुक्ति दिन गलत रिपोर्ट तयार गर्ने जनकपुर अञ्चल अस्पतालका दुईजना चिकित्सकलाई कारबाहीको लागि सिफारिस गरिएको छ । 

बलात्कृत १२ वर्षीया बालिकाको स्वास्थ्य परीक्षणको गलत रिपोर्ट तयार गर्ने जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा.रम्भा गोइत र डा.भीके सिंहलाई कारबाहीको लागि सिफारिस गरिएको हो ।
 
सरकारी वकिलको कार्यालय धनुषाले दुवै डाक्टरलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर कारबाहीको माग गरेको हो ।
 
आमाको मृत्यु भएको र बुवा रोजगारीका लागि भारत गएपछि काकीको घरमा भाइसँगै बस्दै आएकी १२ वर्षीया बालिकालाई गएको भदौ ८ गते राति साढे १० बजे घरमा सुतिरहेको बेला छिमेक जनकनन्दनी गाउँपालिका २ का २३ वर्षीय किरण खत्वेले बलात्कार गरेको पीडित परिवारको आरोप छ । 

बलात्कारको घटनापछि बालिकालाई स्वास्थ्य परीक्षणको लागि इलाका प्रहरी कार्यालय खजुरीले भदौ ९ गते जनकपुर अञ्चल अस्पताल पुर्याएको थियो ।  अञ्चल अस्पतालले ११ दिनपछि दिएको त्यो रिपोर्टमा स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकद्वय डा. रम्भा गोइत र डा. भीके सिंहले बालिकालाई स्वास्थ्य परीक्षणमा ‘भेजाइना नर्मल’ (यौनाङ्गमा क्षति नपुगेको) र ‘ह्युमेन नर्मल’ उल्लेख गरेको रिपोर्ट दिएको थियो ।
 
इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक शेषराज थान्दारका अनुसार अञ्चल अस्पतालको त्यो रिपोर्टमाथि चित्त नबुझेपछि गएको भदौ २५ गते जिल्ला अस्पताल सिरहामा बालिकाको पुनः स्वास्थ्य परीक्षण गराएको थियो । सिरहा जिल्ला अस्पतालका डा. राकेशकुमार सिंहले गरेको स्वास्थ्य जाँचमा पीडित बालिकाको गाला र ओठमा ‘बाइट मार्क’(गाला र ओठ टोकिएको), ‘भेजाइना कन्जेसन’(योनीमा चोट) र ‘हाइमेन रप्चर्ड’(योनिको झिल्ली च्यातिएको) देखाएको रिपोर्ट दिएका छन् ।

सिरहा अस्पतालले बालिका बलात्कार भएको रिपोर्ट दिएपछि जनकपुर अञ्चल अस्पतालमाथि प्रश्नचिन्ह खडा भएको छ ।  बलात्कारको घटनापश्चात भारत भागेका आरोपित खत्वे पैसा लिन घर फर्केको बेला प्रहरीले भदौ ९ गते नै उनलाई पक्राउ गरेको थियो ।
 
अभियुक्त खत्वेले प्रहरीसँगको बयानमा आफ्नो अपराध समेत स्वीकार गरिसकेको प्रहरी निरीक्षक थानदारले बताउनुभयो । बालिका बलात्कार भएको पुष्टि गरेको अस्पताल सिरहा र बलात्कार नभएको पुष्टि गरेको अञ्चल अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट र अभियुक्तले स्वीकारेको बयानको भिडियोसहित सरकारी वकिल कार्यालयमार्फत इलाका प्रहरी खजुरीले जिल्ला अदालत धनुषामा गएको असोज ४ गते मुद्दा समेत दायर गरेको छ ।  
 
सरकारी वकिलको कार्यालयले अभियुक्त खत्वेसहित स्वास्थ्य रिपोर्टमा छेडखानी गर्ने चिकित्सकलाई समेत कारबाहीको माग गर्दै जिल्ला अदालत धनुषामा असोज ४ गते मुद्दा दर्ता गराएको छ ।
 
सरकारी वकिलको कार्यालयले यी दुवै स्वास्थ्य रिपोर्टको प्रतिलिपि र अभियुक्तको बयानको भिडियो टेपसहित गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका दुवै चिकित्सकलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर कारबाहीको माग गरेको जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता टेक बहादुर काकीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • Madhu Ghimire MBBS(Del). MRCP (UK), FRCP (E)

    Sept. 26, 2018, 6:23 p.m.

    Maximum possible punishment with seizure of the licence to practice medicine by the NMC

  •  0 Reply

तपाईको प्रतिक्रिया