अनलाइन आवेदन दिएकालाई भोलिसम्म औँठा छाप र फोटो लिने व्यवस्था, नामावली सङ्कलनको काम स्थगित

 साउन २०, २०७९ शुक्रबार ८:६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - निर्वाचन आयोगले मतदाता नामावलीका लागि अनलाइनमार्फत आवेदन दिएकालाई भोलिसम्म औँठा छाप र फोटो लिने व्यवस्था गरेको छ ।

अनलाइन प्रविधिमार्फत मतदाता नामावली सङ्कलनका लागि अनलाइन फारमभरि औँठा छाप र फोटो खिच्नका लागि आवेदन दिएकाको हकमा भोलिसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । यसअघि नै फारम भरेका जसले साउन २० र २१ गते अर्थात आज र भोलिसम्मको समय लिनुभएको छ, उहाँहरुको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा औँठा छाप र फोटो लिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले नमुनाका रूपमा आठ जिल्लामा अनलाइन फारम भर्ने व्यवस्था मिलाएको थियो । काठमाण्डौ, ललितपुर र भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापामा जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन फारम भर्न सक्ने व्यवस्था गरिएको थियो । आजदेखि मतदाता नामावली सङ्कलनको काम भने स्थगित भएको छ ।

सरकारले हिजो आउँदो मंसिर ४ गते एकैचरणमा गर्नेगरी प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा गरेपछि आयोगले मतदाता नामावली सङ्कलनको काम आजदेखि स्थगित गरेको हो । यसअघि आयोगले गएको असार एक गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली सङ्कलनको काम आजदेखि स्थगित भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार निर्वाचन  आयोगले  मतदाता  नामावलीबाट  मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने कार्य पनि आजैदेखि सुरु हुनेछ । आयोगले मतदाता नामावली सङ्कलन गरेपछि नियमित रूपमै अद्यावधिक गर्ने कार्य गर्दै आएको छ ।

चुनावको तयारी पूरा गर्न आयोगलाई १ सय २० दिनको समय माग गरे पनि सरकारले १ सय ७ दिन मात्रै दिएको छ । तर अब निरन्तर चुनावका काम अगाडि बढ्ने र तोकिएको मितिमा चुनाव सम्पन्न गर्न सक्षम रहेको आयोगले जनाएको छ ।

२०७४ सालको चुनाव र गएको वैशाखमा भएको पालिका चुनावमा मतदान केन्द्र मतदातामैत्री नभएको गुनासोपछि अबको चुनावमा सकेसम्म पुनरावलोकन गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभएको छ ।

आयोगका अनुसार अहिलेसम्म १ सय १४ वटा दल दर्ता भएका छन् । तर पहिल्यै दर्ता भएका दलले पनि निर्वाचन भाग लिने प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने हुन्छ । आइतवारदेखि चुनावकाे प्रयोजनका लागि दल दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया