दशैँ आउन १ महिना बाँकी रहँदै ७० प्रतिशतभन्दा धेरै हवाई टिकट बुकिङ

 भदौ १९, २०७९ आइतबार १४:२१:२९ | रासस
unn.prixa.net

काठमाण्डाै – दशैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्त्वपूर्ण उत्सव हुन् । दशैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ । वर्षदिनको महत्त्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ । उनीहरू आफन्त र मान्यजनबाट टीका तथा आशीर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्य पुग्छन् । 

दशैँमा आवतजावत गर्ने महत्त्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातको रूपमा हवाई सेवालाई लिइन्छ । दशैँ आउन झन्डै तीन हप्ता बाँकी रहँदा अहिले धेरैजसाे गन्तव्यको टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दशैँका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिनुभयो । उहाँले अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको बताउनुभयो । 

‘दशैँका लागि धेरैजसाे बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान सङ्ख्या थप्ने योजनामा छौँ, ट्रक रुट मा त्यति समस्या छैन, स्टल रुटमा जहाज लिमिटेड भएकाले अत्यधिक चाप हुन्छ’, प्रवक्ता शर्माले भन्नुभयाे । दशैँ लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज पर्याप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिनुभयो । 

सामान्यतया दशैँ आउन एक महिनाअघिदेखि नै हवाई टिकट खुलाइन्छ । अहिले अनलाइनबाट सहजै टिकट पाइने भएकाले धेरैजसाे हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एअरलाइन्सले जनाएका छन् । उनीहरूका अनुसार दशैँलाई लक्षित गरेर अहिले ७० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ । सङ्घका प्रवक्ता कँडेल अनलाइनबाटै धेरैजसाे बुकिङ भएको बताउनुहुन्छ । 

आन्तरिक उडानका अग्रणी वायु सेवा कम्पनी बुद्ध एअर, यती एअरलाइन्स, श्री एअरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एअरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक दुई सय ६० जना र दुईतर्फी उडानमार्फत झन्डै १३ हजार यात्रु आवतजावत गरिरहेका छन् । दशैँमा दैनिक तीन सय ५० हाराहारी उडानबाट २० हजार बढी यात्रुले सेवा लिने उहाँको अनुमान छ । ‘कोभिड–१९ महामारीमा उडानको चाप थियो, यस पटकको दशैँमा झनै यात्रुको चाप हुने देखिन्छ, यात्रुको मागअनुसार उडान थप्छौँ’, प्रवक्ता सिटौलाले भन्नुभयो ।

बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दशैँका लागि अहिले धमाधम बुकिङ भइरहेको र समग्रमा ७० प्रतिशतसम्म टिकट बुकिङ भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीको अनलाइनबाट मात्रै ८० प्रतिशत बुकिङ भइसकेको छ ।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिलेसम्म ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिला जस्तो दशैँलाई मात्र भनेर बुकिङ खुलाउने गरिएको छैन, टिकट अनलाइनमा सहजै पाइने भएकाले बुकिङ झन्डै फुल भइसकेको छ । यात्रुको मागअनुसार उडान सङ्ख्या थप्न गर्न सकिन्छ ।’ तुलनात्मक रूपमा हवाई यात्रा महँगो भए पनि सहज, सुलभ र छिटो–छरितो यातायात भएकाले हवाई यात्राप्रति यात्रुको आकर्षण बढ्दो छ । कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ । त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि धेरैजसाे यात्रु लालाहित हुन्छन् । नजिकिएको दशैँलाई मध्यनजर गर्दै अहिले हवाई सेवा प्रदायक कम्पनीले धमाधम अग्रिम टिकट बुकिङ गरिरहेका छन् । केही गन्तव्यमा त दशैँ आउन एक महिनाअघि नै टिकट 'प्याक' भइसकेको छ ।   

दशैँमा सङ्घीय राजधानी काठमाण्डाै छाेडेर गाउँघर पुग्ने यात्रुको चहलपहल बढी हुन्छ । टीकाको भोलिपल्टदेखि काठमाण्डाै फर्किने यात्रुको चाप बढ्छ । वायु सेवा कम्पनीका अनुसार अहिले दशैँको अन्तिम दिनलाई लक्षित गरी उच्च दरमा टिकट लिने क्रम बढेको छ । 

तुम्लिङटार र सुर्खेत गन्तव्यको बुकिङ 'फुल' 

आन्तरिक उडानको महत्त्वपूर्ण स्टल रुट मानिने तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ फुल भइसकेको एअरलाइन्सले जनाएका छन् । बुद्ध एअरका सूचना अधिकारी कर्णका अनुसार बुद्ध एअरको तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ पूर्ण भइसकेको छ । बाँकी गन्तव्यमा पनि धेरैजसाे प्याक भइसकेको छ । विशेषगरी फूलपातिदेखि विजयादशमी टीकासम्म चाप बढी हुन्छ । अग्रिम बुकिङ त्यहीअनुसार हुने गरेको एअरलाइन्स कम्पनीले जनाएका छन् । नेपाली पात्रोअनुसार यो वर्ष असोज १० गते घटस्थापना र १९ गते विजयादशमी टीका रहेको छ ।

७० प्रतिशत बुकिङ

दशैँलाई लक्षित गरेर एअरलाइन्सको धमाधम हवाई टिकट बिक्री भइरहेको छ । अहिले ६० देखि ७० प्रतिशत बुकिङ भएको एअरलाइन्सले जनाएका छन् । बुद्ध एअरको विभिन्न गन्तव्यमा ७० प्रतिशत हाराहारी बुकिङ छ । पहिला ट्राभल एजेन्सीमार्फत टिकट होल्ड गरिन्थ्यो । उसको अनलाइन बुकिङ ८० प्रतिशत भइसकेको छ । यती एअरलाइन्सले आफ्नो ६० प्रतिशत अनलाइन बुकिङ भइसकेको जनाएको छ । श्री एअरलाइन्सको पनि त्यही हाराहारी बुकिङ छ । एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले दशैँका लागि कम्पनीको विभिन्न गन्तव्यमा बुकिङ भइरहेको बताउनुभयो ।

यती एयरलाइन्सका प्रवक्ता बर्तौलाका अनुसार ७० प्रतिशत अनलाइनबाट र बाँकी ३० प्रतिशत ट्राभल एजेन्सी तथा एअरलाइन्सको टिकट बिक्री काउन्टरमा प्रत्यक्ष गएर यात्रुले टिकन लिने गरेका छन् । सौर्य एअरलाइन्सले शुक्रवारदेखि दशैँ र तिहारलाई केन्द्रित गरी अग्रिम बुकिङ खुला गरेको जानकारी गराएको छ । एअरलाइन्सले विभिन्न दरका टिकट अनलाइन बुकिङमा राख्ने भएकाले सस्तो टिकट चाँडै फुल हुन्छ । त्यसपछि महँगो टिकट खरिद गर्नुपर्ने हुन्छ । एअरलाइन्सले अनलाइनबाट वर्षभरि नै टिकट बुक गर्न सकिने गरी खुला गरेका छन् । यसले यात्रुलाई सहजै टिकट लिएर गन्तव्यमा पुग्न सहज भएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया