दशैँमा २० लाख जनाले काठमाण्डाै उपत्यका छोड्ने

 असोज १०, २०७९ सोमबार १५:४३:० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बडादशैँमा काठमाण्डाै उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या बढेको छ ।

अहिले दैनिकरूपमा नागढुङ्गा, साँगा भञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार जनाभन्दा माथि रहेको छ । यस पटक दशैँमा झन्डै २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दशैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या कम थियो । तीन वर्षअघि काठमाण्डाै उपत्यकाबाट दशैँका अवसरमा घर फर्कनेको सङ्ख्या २० लाख जनाको हाराहारीमा रहेको तथ्याङ्क छ । 

दशैँमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गाेङ्गबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । 

यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान गाडी नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ । 

गाडीकाे चाप र भिडभाडका कारण हुन सक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी यात्रु चढाउने गाडीलाई कारबाही गर्न सादा पोसाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले दशैँ मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले गाडी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी गाडी चलाएमा खबर गर्न आग्रह गरेको छ । यातायात व्यवसायीले पनि दशैँका लागि पर्याप्त गाडी उपलब्ध हुने प्रतिबद्धता जनाउँदै गाडीकाे अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ ।

अहिले उपत्यका भित्रने गाडीकाे तुलनामा बाहिर जाने गाडी र यात्रुको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया