खसीबोकाको स्वास्थ्य परीक्षण आजदेखि : हरियो स्टिकर खानयोग्य, रातो अयोग्य

 असोज ११, २०७९ मंगलबार ८:३४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । पशुसेवा  विभागले  खसीबोकाको  स्वास्थ्य  परीक्षण  गर्न  लागेको  हो ।

दशैँमा उपभोक्ताको स्वास्थ्यमा नै असर पर्ने अस्वस्थकर खसीबोका कारोबार हुन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्न लागेको पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताउनुभयो । आजदेखि १८ गते नवमीको दिनसम्म ५० जना पशु चिकित्सकको टोलीले  विभिन्न  ठाउँमा  गएर  खसीबोकाको  स्वास्थ्य  परीक्षण  गर्नेछन् । विभागले कलङ्की, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खुु, लोकन्थली, सल्लाघारीमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछ ।

खसिबोका आयात हुने मुख्य नाका र कारोबार हुने ठाउँमा स्वास्थ्य परीक्षण गरी स्टिकर लगाइनेछ । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ । यसवर्षको दशैँमा   काठमाण्डौ उपत्यकामा  ५० देखि ६०  हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुुमान छ । गएको वर्ष ५० हजारको हाराहारीमा खपत भएको थियो । दशैँको सप्तमी, अष्टमी र नवमीमा सबैभन्दा धेरै सङ्ख्यामा खसीबोका, भेडाच्याङग्रा बिक्री हुने विभागले जनाएको छ ।

व्यवसायीले जाजरकोट, सल्यान, बैतडी, डडेल्धुरा, अछाम, नेपालगञ्ज, गुल्मी, पाल्पा, झापा, इलाम, ओखलढुङ्गालगायतका जिल्लाबाट खरिद गरी काठमाण्डौ उपत्यकामा ल्याएर खसीबोका बिक्री गर्छन् । यस्तै भारतको लखनउ, हरियाणा, राजस्थानबाट पनि खसी  आउने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि बिक्री मूल्य तय गरि आजदेखि नै खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने तयारी भैरहेको जनाएको छ । दाङ, धादिङ, हेटौँडाबाट खसीबोका र दार्चुलाबाट च्याङ्ग्रा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया