खाद्यले आजदेखि खसीबोका/च्याङ्ग्रा बिक्री गर्दै : पोहोरको भन्दा महँगो

 असोज १२, २०७९ बुधबार ७:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै -  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि  कम्पनीको थापाथलीमा रहेको  प्रादेशिक  कार्यालयबाट बिक्री  सुरु गर्दैछ ।

दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्ग्रा पनि काठमाण्डौ आइसकेका छन् । कम्पनीले हिजो खसीबोका प्रतिकेजी  ६ सय  ८०  रुपैयाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूूल्य निर्धारण गरेको छ ।

गएको वर्ष कम्पनीले खसीबोकाको मूूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो । खरिद मूूल्य नै  बढेकाले  मूूल्य  बढ्न  गएको  कम्पनीले जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले च्याङ्ग्रा र  खसीबोकामा  प्रतिकेजी १० रुपैयाँ छुुट दिइएको जानकारी दिनुभयो।

छुटमा खरिद गर्दा उपभोक्तालाई खसीबोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ पर्नेछ । कम्पनीले खसीबोका प्रतिकेजी ५ सय ७० देखि ६ सय रुपैयाँमा र  च्याङ्ग्रा  प्रतिकेजी  एक  हजार १ सय ५० रुपैयाँमा खरिद गरेको कम्पनीले जनाएको छ ।

खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो पर्ने नायब महाप्रबन्धक खनालले बताउनुभयो । यसपालि काठमाण्डौ उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान छ । तर खाद्यले थोरै मात्रै बिक्री गर्ने भएकाले सबैलाई सहज हुने अवस्था छैन । यो बजार हस्तक्षेप मात्रै रहेको कम्पनीले जनाएको छ । पशुसेवा  विभागले  हिजोदेखि नै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा खसीबोकाको  स्वास्थ्य  परीक्षण  समेत सुरु गरेको छ ।  

नवमीको दिनसम्म विभिन्न  ठाउँमा  गएर खसीबोकाको  स्वास्थ्य  परीक्षण गरिने विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताउनुभयो । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया