आजदेखि दशैँ बिदा, घरगाउँ फर्कनेहरुको चहलपहल झनै बढ्यो

 असोज १५, २०७९ शनिबार ६:५०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - दशैँ मनाउन घर फर्कनेहरुको भिड आजदेखि झन् बढेको छ । सरकारी कार्यालय र स्कुल क्याम्पस आजदेखि बन्द भएपछि घर फर्कनेको चहलपहल बढेको हो । केही स्कुल घटस्थापनादेखि बिदा भए पनि धेरै स्कुल, क्याम्पस र कार्यालय भने हिजो शुक्रवारसम्म सञ्चालन भएका थिए ।

आज शनिवार र भोलि फूलपाती भएकाले अत्यावश्यकबाहेकका कार्यालय र सेवा आजदेखि बन्द भएका छन् । आज र भोलि गाडीमा झन् धेरै भिड हुने भएकाले सुरक्षित यात्राको लागि ध्यान दिन प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ । यस्तै गाडीकाे चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेटमार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने गाडीलाई कारबाही गर्न सादा पोसाकमा पनि प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तोकिएकोभन्दा बढी भाडा नलिन र ट्राफिक नियमको पालना गर्न प्रहरीले यातायात व्यवसायीसँग आग्रह गरेको छ ।

काठमाण्डौ उपत्यकामा रहेका यात्रु सहायता कक्षसँगै ठाउँठाउँमा भाडासूची पनि राखिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालका अनुसार नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिएको छ । अघिल्लो दुई वर्षमा कोरोनालगायत कारणले दशैँका बेला घरगाउँ फर्कनेको सङ्ख्या कम थियो । यसपालि भने वैदेशिक रोजगारीमा रहेकाहरुसमेत दशैँ मनाउन गाउँघर फर्किँदैछन् । 

दशैँमा मानिसहरु बाहिरिने भएकाले काठमाण्डाै उपत्यकामा भिडभाड कम हुने भएकाले मानिसको चाप कम भए पनि चोरी लगायतका घटना हुन सक्ने भएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ । 

मोबाइल गस्ती, पैदल गस्ती, पिकेट, क्यूआरटी, सादा पोसाकका प्रहरीको परिचालन, सीआरभी, सीसीटीभी निगरानी, कट एन्ड सर्च, एम्बुस, रिजर्भ, नियमित चेक प्वाइन्ट ड्यूटी, मापसे चेकिङमा प्रहरी खटाइने छ। 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया