राउटे बस्तीमा दसैँको चटारो

 असोज १६, २०७९ आइतबार १२:३२:५१ | रासस
unn.prixa.net

दैलेख – दसैँको रौनकले राउटे बस्तीलाई छोएको छ । उनीहरु दशैँको भव्य तयारीमा जुटेका छन् । फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा लेकमा एक महिनादेखि बस्दै आएका थिए । अहिले सोही गाउँपालिकाको वडा नं १ बेँसीमा पर्ने बेस्तडा बजार नजिकै जङ्गलमा सरेका छन् ।

लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको उनीहरुको भनाइ छ । महामुखिया महिनबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको सुनाउनुभयो । ‘दसैँ आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ, चिसो बढ्यो, दसैँ मनाएर अन्तै सर्नुपर्ला,’ बेस्तडा जङ्गलमा काठ अभाव रहेकाले धेरै बसाइ नहुने शाहीको भनाइ छ ।

फिरन्ते जीवन बिताउने यो समुदायका ४६ घरधुरीमा गरी एक सय ४३ जना छन् । बस्तीमै पुगेर राउटे समुदायलाई खसी, चामल, चिसोमा न्यानो गराउने पिफर्म वितरण गरेको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश थापाले बताउनुभयो ।

उहाँले राउटे जहाँ बस्ती सरे पनि भत्ता दिँदै आएको गुराँस गाउँपालिकालाई असोज महिनाको भत्ता वितरण छिटो गर्न भनीदिनुहोस् भनेर सताउने गरेको बताउनुभयो ।

गुराँस गाउँपालिका–८ ले परिचयपत्र दिएर नेपाली नागरिकको रूपमा सामाजिक भत्ता बस्तीमै पुगेर वितरण गर्दै आएको छ । सरकारले अतिलोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक चार हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

दसैँ नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन् । किनमेलका लागि स्थानीय बेस्तडा बजार हुँदै दैलेख सदरमुकामसम्म पुग्ने उनीहरूको योजना छ ।

राउटे समुदायमा मुख्य मान्छेलाई महामुखिया भनिन्छ । महामुखिया शाही छन् भने मुखिया दुई जना सूर्यनारायण र वीरबहादुर शाही छन् । उनीहरू महामुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्दछन् । यो दसैँलाई ‘असोजे दसैँ' भन्छन् । यसका लागि राउटेले अगाडि नै खसीबोका जम्मा गरिराख्छन् ।

दसैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् । दसैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् । मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाइ लहरै घुमेर नाच्छन् ।

देवी–देवताको पूजा गर्ने, चाडपर्व मनाउनेलगायतका हिन्दू संंस्कारप्रति राउटे पनि विश्वास गर्छन् । यद्यपि उनीहरूको मृत्यु संस्कार भने फरक शैलीको छ । 

आफ्ना सदस्यको मृत्युमा जलाएर अन्त्येष्टि, काजकिरिया, जुठो बार्ने गर्दैनन् । जहाँ मर्याे त्यही गाडेर बस्ती सर्छन् । कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोटको आसपासका क्षेत्रमा यो समुदायले बसोबास गर्दै आएको छ । यिनीहरु अझै दैलेखमा बस्न धेरै रुचाउँछन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया