आज दशैँको मुख्य दिन, विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

 असोज १९, २०७९ बुधबार ६:३५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज दशैँको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजयादशमी मनाइँदैछ । 

टीकाको साइत खोजेर लगाउनेहरुका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई आज बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन सकिनेछ । यद्यपि साइत नखोज्नेहरुले आज दिनभर जुनसुकै बेला टीका लगाउन सक्नेछन् ।

टीका लगाउने व्यक्ति पूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तीको प्रतीकका रुपमा मनाइने विजयादशमी दशैँको महत्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  ।

मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ ।

विगतमा कोरोना महामारीले केही खल्लो भएको दशैँ यसवर्ष धेरै उत्साहका साथ मनाइँदैछ । दशैँ मनाउन झण्डै २० लाखले काठमाण्डौ उपत्यका छोडेर गाउँघर पुगेका छन् । त्यस्तै भारत र विदेशमा रहेकाहरु पनि दशैँका लागि मुख्य थलोमा फर्किएका छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया