ठाडोभाका शिरोमणि स्वर्गीय भेँडीखर्के साहिँलाको सम्मानमा ठड्याइयो शालिक

 असोज १४, २०७५ आइतबार १८:३८:१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – ठाडोभाका शिरोमणि स्वर्गीय भेँडीखर्के साहिँलाको शालिक अनावरण गरिएको छ ।

लमजुङ सुन्दरबजार नगरपालिका–६, मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा उहाँको शालिक अनावरण गरिएको हो । आइतबार राष्ट्रिय गानका रचायिता प्रदीपकुमार राई ‘ब्याकुल माइला’ले स्वर्गीय साहिँलाको शालिकको अनावरण गर्नुभएको हो ।

उहाँले मौलिक कला, गीतसंगीतको जगेर्ना गर्नुपर्ने बताउनुभयो । श्रष्टाको योगदान कहिल्यै भुल्न नहुने उहाँको भनाई छ । ठाडोभाका संरक्षणमा साहिँलाको उच्च योगदान रहेको उहाँले बताउनुभयो ।   

भेँडीखर्के साहिँला समृति प्रतिष्ठान लमजुङ सुन्दरबजारको पहल तथा विभिन्न सहयोगी व्यक्ति तथा संघसंस्थाको सहयोगमा साहिँलाको शालिक निर्माण गरिएको हो । 

आजीवन ठाडोभाका संरक्षणमा लाग्नुभएका साहिँलाको योगदानको उच्च कदर गर्नुका साथै उहाँको सम्झनामा शालिक ठड्याइएको भेँडीखर्के साहिँला स्मृति प्रतिष्ठान लमजुङका अध्यक्ष शम्शेरबहादुर लौडारीले बताउनुभयो ।

साहिँलाको शब्द चयन र लयबद्ध रुपमा गाउन सक्ने क्षमतालाई ईश्वरकै वरदान ठान्नुहुन्छ, ठाडोभाका संरक्षणमा लाग्नुभएका तार्कु खहरे विष्णुभक्त अधिकारी । ‘भेँडीखर्के साहिँलाको गाउने कला र गलाको बयान गरिसाध्य छैन । उहाँको गायकी इश्वरको बरदान नै हो भन्छु म,’ उहाँले भन्नुभयो, ‘साहिँलाको योगदान कसैले कहिल्यै भुल्नु हुँदैन ।’

युवा पुस्ता जुट्नुपर्ने  

विशेषगरी : दूरा गुरुङ सुमदायको सँस्कृति मानिन्छ, ठाडोभाका । तर यसलाई आजसम्म जोगाइराखे एक ब्राह्मणका छोरा दीर्घराज अधिकारी अर्थात भेँडीखर्के साहिँलाले ।

लोपान्मुख मौलिक ठाडोभाका संरक्षण जनजाति समुदायका साथै नयाँ पुस्ता जुट्नु आवश्यक रहेको दूरा सेवा समाज सुन्दरबजारका उपाध्यक्ष चन्द्रबहादुर दूरा बताउनुहुन्छ ।    

मौलिक लोपान्मुख ठाडोभाका संरक्षणमा नयाँ पुस्ता जुट्नुको विकल्प नरहेको स्थानीय युवा ज्ञानेन्द्र शर्माले बताउनुभयो । विसं १९९० भदौ २९ गते बुबा बलभद्र अधिकारी र आमा नन्दकुमारी अधिकारीको कोखबाट साबिक सिन्दूरे गाविस–६, दुराडाँडा लमजुङमा जन्मिनुभएको हो, साहिँला । साहिँलाको २०७४ साल भदौ २६ गते निधन भएको हो ।      
 

शालिक अनावरणकै अवसरमा ठाडोभाका समेत प्रस्तुत गरिएको थियो । साहिँलाको शालिक बनाउँदैमा शालिकमा फुलपाती चढाउँदैमा उहाँको सम्मान नहुने बताउँदै मौलिक ठाडोभाका जोगाउन सके मात्रै स्व. भेँडीखर्के साहिँलाको आत्माले शान्ति पाउने सरोकारवालाहरु बताउँछन् ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया