दाङमा चुनावी रौनक : उम्मेदवार बस्तीबस्तीमा, दलका कार्यकर्ता भोट हाल्न सिकाउँदै

 कात्तिक २२, २०७९ मंगलबार १५:१:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ - प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिँदै गर्दा दाङमा उम्मेदवार बस्तीबस्तीमा चुनावी प्रचारप्रसारमा व्यस्त छन् । चुनावी प्रचारप्रसारमा हिँडेका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना योजना मतदातालाई सुनाउँदै मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई मतदानका लागि आग्रह गर्दै आएका छन् ।

३ वटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दल र स्वतन्त्र गरेर ८९ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । उम्मेदवारहरु आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा पुग्ने तथा आफ्नाे पक्षमा मतदान गर्नका लागि आग्रह गर्ने गरेका छन् ।

निर्वाचन प्रचारप्रसारका क्रममा मतदातालाई रिझाउनका लागि कतिपय उम्मेदवारले भने मतदातालाई काममा सहयोग गरेको अभिनय गर्नका लागि धान काट्ने, खोत जोत्नेदेखि खन्ने काम समेत गरिररहेका छन् ।

चुनावी प्रचारप्रसारसँगै राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिह्नको विषयमा मतदाताहरुलाई जानकारी गराउँदै भोट माग्ने क्रम जारी रहेको छ । मतदाता भेटघाटका क्रममा उम्मेदवारहरुले जनताका समस्या समाधान गर्ने गरी आफ्ना कुरा राख्नेदेखि पाँच वर्षको अवधिमा आफू र आफ्नो पार्टीले खेलेको भूमिका समेत जनतालाई राख्ने गर्दै आएका छन् ।

दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवारको रुपमा रहेका एकीकृत समाजवादीका नेता एवम् सहरी विकास मन्त्री मेटमणि चौधरी, एमालेकी उम्मेदवार शान्ता चौधरी, पूर्व सांसद गंगा चौधरी, रुक्मिनी चौधरीलगायतका उम्मेदवारहरु हुनुहुन्छ । गंगा हाम्रो नेपाली पार्टी र रुक्मिनी संघीय लोकतान्त्रिक थारुहट पार्टीबाट उम्मेदवार बन्नु भएको छ ।

दाङ क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्मा र नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । मतदाता भेटघाटका लागि उम्मेदवारहरु घरघर पुग्ने र नमस्कार गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र नेकपा एमालेबाट उम्मेदवार बनेकी कोमल वली चुनाव प्रचारप्रसारका क्रममा दिनहुँ मतदातालाई भेटेर आफ्ना कुराहरु राख्दै आउनु भएको छ ।

प्रदेशसभाका उम्मेदवार पनि प्रचारप्रसारमा व्यस्त

६ प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारले मतदातालाई भेट्दै मतदाताको कुरा सुनेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा गठबन्धनबाट माओवादी केन्द्रका नेता समेत रहेका लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत चौधरी पनि प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । उहाँसँग क्षेत्र नम्बर १ (क) मा प्रतिस्पर्धामा उत्रनु भएका नेकपा एमालेका नेता गंगाराम भट्टराईले पनि चुनावी प्रचारप्रसारसँगै घरदैलो र भेटघाटका कार्यक्रमलाई अघि बढाइ रहनु भएकाे छ । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काका छोरा अनुराग खड्का पनि यति बेला चुनावी प्रचारप्रसारदेखि मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ ।

उम्मेदवार खड्का दाङको विकासका लागि आफूले विगतमा बुवाले गरेको विकासका आधारमा पहल गर्ने भन्दै जनताका माझमा पुग्नु भएकाे छ । नेकपा एमालेका नेता एवम् लमही नगरपालिका निवर्तमान नगर प्रमुख कुलबहादुर केसी लगायतका अन्य साना पार्टीका उम्मेदवारहरुले पनि यसै क्षेत्रमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँ पनि मतदाता भेटघाटका कार्यक्रममा व्यस्त छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ (क) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा पूर्व सांसद राजु खनालले पनि चुनावी प्रचारप्रसारका लागि जनताको घरदैलोमा पुग्ने र मतदाता भेटघाटलगायतका कार्यक्रमलाई तीव्र बनाउनु भएको छ ।

पहिले पनि सांसद बन्दा आफूले दाङको विकासका लागि महत्वपूर्ण काम गरेको भन्दै खनालले मतदाताको घरघरमा पुगेर संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धनमा आबद्ध दलले खेलेको भूमिका बारेमा जनतालाई जानकारी दिँदै निर्वाचनका लागि भोट माग्ने काम गरिहनु भएको छ । क्षेत्र नम्बर २ (क) मा एमालेबाट उम्मेदवार बनेका बलिभद्र राना पनि चुनावी कार्यक्रमहरुमा व्यस्त हुनुहुन्छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ र नेकपा एमालेका गिरीराज केसीलगायतका साना दलका उम्मेदवारहरु चुनावी मैदानमा हुनुहुन्छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गठबन्धनका साझा उम्मेदवार न्यौपानेसँगै केसीले मतदाता भेटघाटका कार्यक्रमलाई व्यापक बनाउनु भएकाे छ ।

पछिल्लो समय आम मतदाताको रोजाइ युवा र केही गर्न सक्ने उम्मेदवारप्रति रहेकाले निर्वाचनमा आफ्नो पक्षमा मत तान्नका लागि न्यौपाने तुलसीपुर र घोराही उपमहानगरपालिका अन्तर्गत रहेको आफ्नो क्षेत्रमा व्यस्त हुने गर्नुभएकाे छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा गठबन्धन दलको साझा उम्मेदवार नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका ग्रामीण तथा पर्यटन विकास मन्त्री डिल्ली चौधरी र नेकपा एमालेका नेता तथा तुलसीपुर नगरका पूर्व प्रमुख घनश्याम पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरु दुवै जना पाँच वर्ष जनप्रतिनिधि भैसकेका उम्मेदवार भएकाले आफूले गरेको विकास निर्माणका योजनाहरुसहित आफ्नो पक्षमा मत माग्न व्यस्त हुनुहुन्छ । त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा गठबन्धन दलको साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य धनबहादुर मास्की र एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत प्रतिस्पर्धामा हुनुहुन्छ । मास्की र बस्नेत पहिलो पटक संसदीय प्रतिस्पर्धामा हुनुहुन्छ ।

मतदातालाई भोट हाल्न सिकाउँदै कार्यकर्ता

विगतमा मतदाता भएर सही तरिकाले मत हाल्न नसक्दा बदर मत बढ्ने गरेको स्मरण गर्दै दाङमा दलका कार्यकर्ता नमुना मत पत्र लिएर बस्तीबस्तीमा सिकाउँदै हिडेका छन् । दलहरुले समूह नै बनाएर आफ्नो पक्षमा आउने मत नबिग्रियोस भनेर मतदातालाई सिकाउँदै हिडेका हुन् । जनमानस जति छ भनेपनि मत सही तरिकाले भएन भने मत बदर हुने भन्दै उनीहरु बस्तीबस्ती पुगेका छन् । त्यस्तै बदर मत घटाउन भन्दै जिल्ला निर्वाचन कार्यालयले पनि जिल्लाका सवै पालिकामा नमुना मतदान सुरु गरिरहेको छ । दाङका सबै पालिकामा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

 

निर्वाचनको प्रचारप्रसारसँगै नेताहरु गाउँबस्तीमा पुगेर फरक पार्टीका नेता कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने होडबाजी नै चलेको छ । खासमा गाउठाउँमा प्रभाव पार्न सक्ने फरक पार्टीका नेता तथा कार्यकर्ता दिनुहँ जसो अर्को पार्टीमा प्रवेश गर्ने गरिरहेका छन् । त्यसलाई उम्मेदवार र दलहरुले आफ्नो पक्षमा लहर बढ्ने प्रतिक्रिया दिने गरेका छन् ।  
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया