झापा-३ – लिङ्देन र सिटौला दुवैलाई उस्तै चुनौती

 कात्तिक २७, २०७९ आइतबार ८:४५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मंसिर ४ गते हुने चुनाव झापाका लागि रोचक छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका ‘हाइ प्रोफाइल’ नेताहरु झापाबाटै प्रतिस्पर्धामा छन् । 

त्यसमा पनि झापाको क्षेत्र नं. ३ झनै रोचक छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबीच उम्मेदवार बन्नुभएका राप्रपा अध्यक्ष लिङ्देन र सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका सिटौला चौथो पटक प्रतिस्पर्धामा रहेपछि यो क्षेत्रमा सबैको चासो बढेर गएको हो ।

गठबन्धनको साझा उम्मेदवार रहेका सिटौला २०७४ सालको चुनावमा बेहोरेको हारको ‘बदला’ लिने योजनामा हुनुहुन्छ  । साङ्गठनिक राजनीतिमा ‘छलाङ’ मारेर राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्नुभएका लिङ्देन पनि २०७४ सालको जितलाई दोहोर्याउने दाउमा हुनुहुन्छ । तर, जितका लागि यी दुवै नेतालाई त्यति ‘सहज’ भने छैन । 

दुवै दलका उम्मेदवार तथा दलका प्रतिनिधि मतदातालाई रिझाउन घरघरमा गइरहेका छन् । तर, विगतलाइ हेर्ने हो भने सिटौलाका लागि चुनाव त्यति प्रियकर छैन । २०४८ सालयता कांग्रेसका सिटौलाले भाग लिएका ६ वटा चुनावमध्ये ३ वटामा मात्रै जित हात पार्नुभएको छ । सिटौलाले ०४८, ०५१ र ०६४ सालका चुनाव हार्नुभएको थियो भने ०५०, ०५६ र ०७० मा भएका संसदीय चुनावमा विजयी हुनुभएको थियो । 

लिङ्देन २०५६, २०७० र २०७४ सालमा चुनावी मैदानमा आमनेसामने देखिनुभएको थियो । २०५६ सालको चुनावमा सिटौला १७ हजार ५ सय ६९ मत प्राप्त गर्दै विजयी बन्दा लिङ्देनले ५ हजार ६ सय २५ मतमा चित्त बुझाउनु परेको थियो । २०७० सालको चुनावमा सिटौलाले १४ हजार ३ सय ५५ मत ल्याउँदा लिङ्देनले ९ हजार २ सय ५३ मत ल्याइ पराजित हुनु पर्याे । तर, २०७४ सालको चुनावमा सिटौलासँग लिङ्देनले बदला लिनुभयो । सिटौलाले ३१ हजार १ सय ७१ मत ल्याउँदा लिङ्देन ४४ हजार ६ सय १४ मत ल्याएर विजयी हुनुभयो । यद्यपि लिङ्देनलाई तत्कालीन एमाले–माओवादी केन्द्रको बाम गठबन्धनको सहयोग रहेको थियो । 

राप्रपाका नेता लिङ्देन पार्टीका अध्यक्ष मात्रै होइन कट्टर राजावादी अभियन्तासमेत हुनुहुन्छ । त्यसैले सिटौला गणतन्त्रको पक्षधरले आफूलाई समर्थन गर्ने विश्वासमा हुनुहुन्छ । तर मंसिर ४ को मतदानमा झापा ३ मा मौजुदा अवस्थाको अङ्कगणित हाबी होला कि सिटौलाले सोचेझैँ गणतन्त्रवादी रुझान निर्णायक होला ? यसको उत्तरले उहाँको राजनीतिक भविष्य धेरै हदसम्म प्रभावित पार्नेछ । उता लिङ्देन आफूले ५ वर्षभित्रमा ३ नम्बरक्षेत्रमा गरेको विकासका आधारमा मतदाताले आफूलाई मतदान गर्ने र विजयी हुने आशमा हुनुहुन्छ । 

झापा क्षेत्र नम्बर ३ मा बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ तथा ८ नम्बर वडाहरू र विर्तामोड नगरपालिकाको वडा नम्बर १० पर्दछ । यो क्षेत्रको बलियो राजनीतिक शक्ति कांग्रेस, एमाले र राप्रपा हुन् भने माओवादी केन्द्र तुलनात्मक रुपमा कमजोर स्थितिमा छ । यो क्षेत्रमा पर्ने पालिकाका वडाहरूमा दलहरूका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई विश्लेषण गर्दा नेपाली कांग्रेस ठूलो दल देखिन्छ । यसका वडाध्यक्षका उम्मेदवारले २६ हजार ९ सय २१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राप्रपाबाट वडाध्यक्षका उम्मेदवारहरुले २१ हजार १ सय ५९ मत ल्याएका छन् । तेस्रो नम्बरमा रहेको एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार १ सय १३ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रले ६ हजार ६ सय ८८ र स्वतन्त्र लगायत अन्य दलले ३ हजार ३ सय ७३ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ३ मा ६६ हजार ६१ पुरुष र ६५ हजार ३७१ जना महिला गरी कुल १ लाख ३१ हजार ४३२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया