गणना भइरहेका ७ क्षेत्रको नतिजा आउन बाँकी : कांग्रेसका कार्की र समाजवादीका खनालको क्षेत्रमा विवाद

 मंसिर ११, २०७९ आइतबार ८:५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभाका १ सय ६५ मध्ये १ सय ५५ क्षेत्रको नतिजा आइसक्दा अब १० वटा क्षेत्रको मात्र बाँकी छ । यी १० क्षेत्रमध्ये बाजुरा, दोलखा र स्याङ्जाको क्षेत्र नम्बर–२ मा गणना नै सुरु हुनसकेको छैन ।

गणना भइरहेका ७ वटा क्षेत्रको अन्तिम नतिजा आउन बाँकी छ । हिजो रोकिएको सुनसरी–४ को मतगणना सुरु गर्ने तयारी भइरहेको छ । तर सहमति जुट्न सकेको छैन । सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ । कांग्रेस उम्मेदवार कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि विवाद भएको हो ।

मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको कार्कीको आरोप छ । गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले अगाडि हुनुुहुन्छ । कार्कीले २१ हजार ४ सय ४५ र एमालेका कुसियैतले २१ हजार ४ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

सुनसरी–१ को प्रतिनिधि सभा सदस्यमा निक्कै प्रतिस्पर्धा छ । त्यहाँ जनता समाजवादी पार्टीका अशोककुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङबीच प्रतिस्पर्धा छ । पछिल्लो विवरण अनुसार गोमाले १२ हजार ८५५ मत ल्याउँदा एमालेको समर्थन पाएका राईले १२ हजार ५०४ मत पाउनु भएकाे निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै सुनसरी–३ मा एमालेका भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारबीच प्रतिस्पर्धा छ । चौधरीले १६ हजार ५ र गच्छदारले ११ हजार ६ सय ९५ मत प्राप्त गर्नुभएको छ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा भइरहेको मतगणनामा विवाद देखिएको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले एकलौटी रुपमा मतगणना गरिएको आरोपसहित पुनः मतदानको माग गर्नुभएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका महेश बस्नेतले २० हजार ३ सय ८५ र खनालले १८ हजार २ सय ५ मत प्राप्त गर्नुभएको छ । 

धनुषा क्षेत्र नम्बर–४ मा कांग्रेसका महेन्द्र यादव र एमालेका रघुवीर महासेठबीच प्रतिस्पर्धा छ । पछिल्लो विवरण अनुसार यादवले २१ हजार ९२४ र महासेठले २० हजार ८१७ मत प्राप्त गर्नुभएको छ । उदयपुरमा कांग्रेसका नारायण खड्का र एमालेका मञ्जुकुमारी चौधरीबीच प्रतिस्पर्धा छ । खड्काले २५ हजार ९१७ र चौधरीले २४ हजार १०९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, रामेछापको पनि अन्तिम नतिजा आउन सकेको छैन । रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङले ४७ हजार ९८ मतका साथ अग्रता कायम राख्नुभएको छ भने उहाँलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले ३० हजार ७२९ मतका साथ पछ्याइरहनुभएको छ ।

(यसअघि एमालेका खनाल भएकाेमा सच्याइएकाे छ।)

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया