मधेसबाट माओवादीको चुनाव चिह्न जोगाउने 'महिन्द्र राय यादव'

 मंसिर ११, २०७९ आइतबार ११:३७:५७ | रासस
unn.prixa.net

फाइल तस्बिर

महाेत्तरी - मधेस प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) को निर्वाचन चिह्न जोगाउने महिन्द्र राय यादव एक्लो सांसद हुनुभएको छ ।

माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उहाँमात्रै निर्वाचित हुनुभएको छ । सर्लाही दुईबाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित हुनुभएको हो । रायले २३ हजार पाँच सय २९ मत पाउँदा महतोले २१ हजार पाँच सय १८ मत प्राप्त गर्नुभयो । 

मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उम्मेदवारी दिएको थियो । धनुषा–१ मा पार्टीका उपमहासचिव मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित हुनुभएको छ । महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा (एमाले) नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित हुनुभयो । 

२०७४ मा राष्ट्रिय जनता पार्टीबाट यही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी हुनुहुन्न । उहाँ डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ । पार्टी फरक भए पनि उहाँ यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनावमा होमिनु भएको थियो । 

को हुन राय ?

राय नेपाली राजनीतिको परिचित नाम हो । २०६२/६३ सालअघिसम्म एमालेबाट राजनीति गर्नुभएका राय याे पार्टीको केन्द्रीय सदस्यसमेत बन्नुभयो । त्यही पार्टीबाट २०५१ को मध्यावधि चुनाव र २०५६ को प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेदवार बनेर सर्लाहीबाट निर्वाचित हुनुभयो ।

तर २०६२/६३ को आन्दोलनपछि एमाले परित्याग गरी तराई–मधेस लोकतान्त्रिक पार्टी स्थापना गरेर त्यसको महासचिव बन्नुभयो । राजनीतिक घटनाक्रमले मधेसवादी दल जुट्न र फुट्न थालेपछि उहाँ तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्यसमेत हुनुभयो । पछि राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम एकीकरण गरी बनेको जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादी पार्टीको आबद्ध हुनुहुन्छ ।

राय २०६४ र २०७० को संविधान सभा सदस्य चुनावमा पनि सर्लाही–४ बाट विजयी हुनुभएको थियो । संविधान निर्माणपछिको पहिलो आम चुनाव २०७४ मा पनि उहाँ सर्लाही–२ बाट निर्वाचित हुनुभयो । उहाँ २०५४ मा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र २०७४ को चुनावपछि कृषि तथा पशुपक्षी विकासमन्त्री बन्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया