सुनसरी-४ मा एमालेकाे आराेप : हार निश्चित भएपछि कांग्रेसले मतगणना अवरुद्ध पार्‍याे

 मंसिर ११, २०७९ आइतबार १४:४३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरी क्षेत्र नम्बर ४ मा हार निश्चित भएपछि कांग्रेसले मतगणना अवरुद्ध पारेकाे एमालेकाे आराेप छ । प्रतिनिधिसभाका नेकपा (एमाले) का उम्मेदवार जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाउनुभएको छ । 

मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उहाँको जिकिर थियो । सञ्चारमन्त्री कार्कीले शनिवार (हिजो) अपरान्ह धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राखेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलीय सहमति जुटाएर मतगणनाको कामलाई शुरु गराउन आइतवार (आज बिहान) सर्वदलीय बैठक बोलाएको थियो । बैठकमा मन्त्री कार्कीले पुनः मतगणना हुनुपर्ने अडान राखेपछि अझै मतगणना कार्य अघि बढ्न सकेको छैन ।

एमाले उम्मेदवार कुसियतले भने बाँकि रहेको मत गणना कार्य तत्काल शुरु गर्न निर्वाचन आयोगसँग माग गरेको बताउनु भयो । आफूहरुको याे अडान कानूनसम्मत भएको दाबी गर्दै उहाँले त्यसबाट पछि हट्न नसकिने पनि स्पष्ट पार्नुभयो ।

कुसियतले भन्नुभयो, ‘यहाँ हाम्रो भनाई के हो भने मतगणना जहाँ रोकिएको छ, त्यसलाई सुचारु गरौं । बाँकि रहेको मतगणना अविलम्व शुरु गरौं । तर माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूको भनाई के हो भने अहिले निर्वाचन आयोगले गरेको मतगणना र उसले जुन सूचना प्रकाशित गरेको छ । त्यसलाई क्यान्सिल गरेर रिमतगणना गराैँ भनेर उहाँको जिकिर हो । त्यसैमा हाम्रो डिबेट चलिराखेको छ । एमालेको कानूनसम्मत अडान हो । हामीले कानूनलाई हातमा लिन खोजेका छैनौं । एमालेले स्पष्ट के भनेको छ भने कानूनमा के भन्छ ? जो मतगणना भयो । त्यसलाई छोडौं । बाँकि रहेको मतगणना शुरु गरौं । उहाँले सायद मानसिक रुपमा हार स्वीकार गरी सक्नुभएको छ । म हारिरहेको छु, त्यो हारलाई कसरी बचाउने भनेर उहाँले बखेडा झिक्नुभएको मात्रै हो ।’

यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारहरुबीच सहमति जुटाएर मतगणना कार्य शुरु गराउन पहल भइरहेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया