बाँदरबाट बालीको सुरक्षा : कति सम्भव कति असम्भव !

 बैशाख ३, २०८० आइतबार १०:४०:४५ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

बाँदरबाट खेती जोगाउन किसानहरुले दिनभर खेतबारीमै बसेर धपाउनेदेखि बाँदर तर्साउन जानेसुनेका सबै प्रयास गरिसकेको र नयाँ नयाँ उपाय अपनाउँदै पनि छन् । तर एकपल्ट मान्छेसित हारेको बाँदर केही दिनपछि हुल बाँधेर आउँछ । बाँदरले बाली पाक्न र खान नदिएछि मेचीदेखि महाकालीसम्मै धेरैको थातथालोबाट उठीबास लागेको छ । 

बाँदर धपाउन किसान र स्थानीय सरकारले बर्सेनि करोडौँ रकम खर्च गरे पनि यस्ता प्रयास प्राय: सबै ठाउँमा विफल भएका छन् । त्यसमाथि, बाँदरबाट बालीको रक्षा गर्न के उपाय काम लाग्छन् भन्ने कुरामा विज्ञहरु नै अनभिज्ञ छन् । तर, बाँदरबाट बाली जोगाउने उपाय नभएका भने होइनन् । 

बाँदर धपाउने केमिकल !

नेपाल कृषि अनुसन्धान परिषद् बाली प्रजनन तथा अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत, डा.उज्जवलकुमार सिंह कुशवाह बाँदर धपाउन खेतबारीमा गन्ध आउने केमिकलको प्रयोग प्रभावकारी हुने बताउनुुहुन्छ ।

डा. कुशवाहाले बाँदर तथा नीलगाईबाट बाली जोगाउन ट्राइ मेथाइल अमिन नामक केमिकलको प्रयोगबारे अनुसन्धान गर्नुभएको छ । र, यो अध्ययन भारतको किट विज्ञानसम्बन्धी जर्नल इन्डियन जर्नल अफ इन्टोमोलोजीमा २०२२ को जुन महिनामा प्रकाशित छ । डा. कुशवाहाको अध्ययन अनुसार बाँदर भगाउन यो उपाय ९५ प्रतिशतसम्म सफल देखिएको छ । 

आयात सहज भइदिए धेरै किसानलाई राहत पुग्ने डा. कुशवाहा बताउनुहुन्छ । बस्ती तथा अरु घरपालुवा जनावर भएको ठाउँमा भने यसको प्रयोग गर्न मिल्दैन । यो गन्धयुक्त केमिकल भएकाले यसको प्रयोगमा सावधानी आवश्यक छ ।  

जङ्गलमा बाँदरका लागि खेती !

बाँदरबाट बाली जोगाउने एउटा उपाय जङ्गलमै उनीहरुको लागि खानेकुरा उपलब्ध गराउनु हो । कृषिकर्मी तथा अध्येता जीवन राई जङ्गलमा विभिन्न जातका फलफूल तथा जङ्गल बीचको खाली जग्गामा मकै लगायतका बाली लगाइदिएमा बाँदरलाई उनीहरुको प्राकृतिक बासस्थानमै रोक्न सकिने बताउनुुहुन्छ । तर जङ्गलमा फलफूल रोप्ने, खेती गर्ने जस्ता कामका लागि लगानी र श्रमशक्ति दुवै चाहिन्छ । अहिले जहाँ बाँदरको वितण्डा छ त्यहाँ जनशक्तिको पनि अभाव छ । पालिकाहरुले प्रयास भने गर्न सक्छन् । 

पर्वतको जलजला गाउँपालिका–४ मल्लाजमा मकै खाँदै गरेको बाँदर । बाँदरबाट मकै बाली जोगाउन कृषकलाई मुस्किल परेको छ । तस्बिर : रासस

तर जङ्गलमै खानेकुरा उपलब्ध गराइदिँदा केही समय बाँदर जङ्गलमा अडिए पनि उनीहरुको सङ्ख्या वृद्धि हुने खतरा रहेको कृषि विज्ञ डा. कुशवाहा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘बाँदर उच्च प्रजनन क्षमता भएको जीव हो, खानेकुरा सहजै भेट्दा उसको प्रजनन क्षमता अझै बढ्छ । त्यसैले केही समयमै बाँदरको सङ्ख्या बढ्ने भएकोले भविष्यमा समस्या अरु बढाउन सक्छ ।’

समस्याग्रस्त क्षेत्रहरूमा पशुपालन

बाँदरले धेरै दु:ख दिने ठाउँमा पशुपालन एउटा प्रभावकारी उपाय हुनसक्छ । अध्येता जीवन राई भन्नुहुन्छ ‘बाँदरले दु:ख दिने ठाउँमा घाँस खेती गरी पैसा कमाउन सकिन्छ । पशुपालन पनि उत्तिकै सम्भावना भएको क्षेत्र हो । घाँस, दूध र मासु बजार राम्रो छ । घाँस उत्पादन हुने पहाडी क्षेत्रमा बाख्रापालन, गाईभैँसी पालनलाई प्रोत्साहन गनुपर्ने उहाँको सुझाव छ । 

नेपालमा सन् १९९५ देखि २० वर्षसम्म लागू भएको दीर्घकालीन कृषि योजनाले पनि वातावरणीय तथा भौगोलिक दृष्टिबाट पहाडी क्षेत्रहरूमा पशुपालन तथा तराईका क्षेत्रहरूमा खाद्यान्न उत्पादन उत्तम हुने निष्कर्ष निकालेको थियो । राईको विचारमा जङ्गल र मुख्य खेतीबाली गर्ने बीचको क्षेत्रमा पशुपालन र घाँस खेती गरेमा बाँदरलाई जङ्गलमै रोक्न सकिन्छ । 

बाँदरको आतङ्क भएका गाउँमा उसलाई मन नपर्ने बालीनालीको लगाउनु अर्को उपाय ठान्नुहुन्छ जीवन राई । कुन ठाउँमा कुन बाली उपयुक्त हुन्छ र त्यसको बजार कस्तो छ भन्ने कुरा सम्बन्धित पालिकाले अध्ययन गरेर निर्क्याेल निकाल्छ सक्छन् । उदाहरणका लागि बेत तथा बाँसको खेती हुने ठाउँमा त्यस्तो खेती गर्न सकिन्छ ।

यस्तै, हाडे बदाम, ओखर, बेल, बयर, तित्री, टिम्मुर जस्ता बाली बाँदरलाई मन पर्दैैनन् । यस्ता वस्तुहरुको उत्पादन, प्रशोधन र बजारका लागि काम गर्न किसानहरुलाई पालिकाले प्रोत्साहन गर्नुपर्ने राईको सुझाव छ। 

मानव बस्तीको पुनःस्थापना ! 

बाँदरले धेरैलाई उठीबास लगाएको छ । तर पहाडमा बाँदरले उठीबास लगाउनु अघि पनि धेरैले थातथलो छाडिसकेका थिए । अवसरको खोजीमा पहाडबाट बसाइँसराइ बढेपछि नै त्यहाँ बाँदरको बिगबिगी बढेको हो । बस्ती बाक्लो हुँदा मानिस धेरै हुन्थे । चहलपहल धेरै हुँदा बाँदर बस्तीमा पस्ने आँट कमै गर्थे । 

फैलिँदो सडक विस्तारसँगै पानीका मुहान सुक्ने घटना बढेकाले बाँदर र पशुपक्षीको बासस्थानमा असर परेको छ । बासस्थान खलबलिएपछि जङ्गली जनावर बस्तीमा पस्ने गरेका छन् । कृषि र वन्यजन्तु अध्येताहरुले मानिससँगको घट्दो दूरी, मानिसले गरेको उत्पादनमा बढ्दो निर्भरता, बाँदरको बासस्थानमा विकासे हस्तक्षेप तथा जलवायु परिवर्तनका कारण बाँदरको स्वभाव पनि परिवर्तन भएको अनुमान गरेका छन् । 

कास्की पोखरा महानगरपालिका वडा नं १९, लामाचौरकाे मकैबारीमा मकै खाइरहेका एक हुल बाँदर

बाँदर लगायतका जङ्गली जनावरसँग मानिसको द्वन्द्व बढिरहेको छ । अरु जनावरले गरेको क्षतिमा सरकारले राहतको व्यवस्था गरेको भए पनि बाँदरले गरेको क्षतिमा राहत पाइँदैन । तर नेपालमा बाँदरको प्रभाव सामाजिक–आर्थिक जनजीवनमा नराम्रोसँग परे पनि चुनावका बेला केही बिकाउ कुरा बाहेक समस्या समाधान गर्न सरकारले प्रभावकारी काम सुरु नै गरेको छैन । 

वैद्यनाथ पाैडेलकाे सहयाेगमा

(‘बाँदरको उपद्रो’ उज्यालोको शृङ्खलाबद्ध कथा हो । यो शृङ्खलामा देशभर भैरहेका बाँदर आतङ्कका अनेक पक्षमा विभिन्न कथाहरु समेटिने छ । )

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • राजेन्द्र राज राजेन

    April 16, 2023, 1:25 p.m.

    बादरकाे समस्या नेपालमा मात्र हाेइन, विश्वभरि नै रहेकाे छ, संसारका अन्य मुलुकमा त्यहाँकाे सरकारले कसरी व्यवस्थापन गरेकाे छ भनेर अध्ययन हुन अावश्यक छ । हाम्राे देशमा त कृषि मन्त्रालय लिए बादर नै भन्छन् कि भनेर कुनै संासदले कृषि मन्त्रि बन्न खाेज्दैनन् । जनताका दुःख एकातिर छन् नेताका कुरा अर्कातिर ।

  •  0 Reply

तपाईको प्रतिक्रिया