पर्यटकीय 'सिजन' सकिएसँगै लुक्ला विमानस्थलमा उडानको चाप घट्यो

 असार १३, २०८० बुधबार ८:४८:५० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – नेपालकै व्यस्त विमानस्थल मध्येको एक सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडानको चाप घटेको छ ।

उडानको चाप घटेसँगै पर्यटकीय 'सिजन'मा व्यस्त विमानस्थल 'सिजन' सकिएपछि फुर्सदिलो बनेको छ।

पर्यटकीय 'सिजन'मा दैनिक सयौँ उडान तथा अवतरण हुने लुक्ला विमानस्थलमा अहिले 'सिजन' सकिएसँगै दैनिक २/३ वटा मात्र उडान हुने गरेको छ । 

पर्यटकीय 'सिजन'मा चार सय १२ वटासम्म उडान भएको लुक्ला विमानस्थल जुन ७ तरिखबाट सुनसान नै बनेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो।

यात्रु नहुँदा विमान कम्पनीहरुले उडान तालिका नै घटाएका छन् भने भएका उडानमासमेत कार्गो बोक्नुपर्ने बाध्यता रहेको विमान कम्पनीहरु बताउँछन् ।

अहिले काठमाण्डौबाट दैनिक एक/दुई वटा आउने विमानहरुले निर्माण सामाग्री, खाद्यान्न, कपडालगायतका कार्गो बोकिरहेको प्राधिकरण प्रमुख श्रेष्ठले बताउनुभयो ।

उडान घटेसँगै विमानस्थलका कर्मचारीसमेत फुर्सदमा देखिएका छन् । 'सिजन'मा एकैपटक धेरै उडान तथा अवतरण हुँदा भ्याइनभ्याइ हुने कर्मचारीलाई यतिखेर फुर्सद रहेको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाले जनाएको छ ।

काठमाण्डौ उपत्यका बाहिरका विमानस्थलमध्ये लुक्ला, पोखरा, सिमिकोट र नेपालगञ्ज व्यस्त विमानस्थलकारुपमा चिनिन्छन् । 

सगरमाथा क्षेत्रमा पर्ने खुम्बुमा वर्षको दुई 'सिजन' भदौ अन्तिमबाट मंसिर मध्यसम्म र चैतबाट जेठ अन्तिम सातासम्मलाई मुख्य पर्यटकीय 'सिजन' मानिन्छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया