सोलुखुम्बुकाे महाकुलुङमा प्याराग्लाइडिङकाे परीक्षण उडान सफल

 असार १४, २०८० बिहिबार ८:५२:३८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका क्षेत्रको आकाशमा पहिलो पटक प्याराग्लाइडिङकाे परीक्षण उडान गरिएको छ । महाकुलुङ गाउँपालिका वडा नम्बर २ को आयोजनामा बुधवार हिजाे पेल्माङको चोङ्खामा सफल परीक्षण उडान भरिएको वडाध्यक्ष प्रदीप कुलुङले बताउनुभयो ।

बाबु  एडभेन्चर्स इन्टरनेशल प्रा.लि.का  प्याराग्लाइडिङ प्रशिक्षक सानो बाबु सुनुवार र पाइलट मोहन कुमार सुनुवारले वडाध्यक्ष प्रदीप कुलुङलाई प्याराग्लाइडिङमा उडाइ सम्भाव्यता अध्ययन गरिएको स्थानीय झलक राईले जानकारी दिनुभयो ।

तल्लो सोलुखुम्बुमा पहिलो पटक उडाइएको प्याराग्लाइडिङ हेर्न सयौँको सङ्ख्यामा स्थानीय उपस्थित भएका थिए । प्याराग्लाइडिङ उडानमार्फत् थप पर्यटन पर्वद्धन गर्न सकिने भएकाले अब पालिकाको नीति तथा कार्यक्रममा नै यसतर्फ बजेट विनियोजन गर्नुपर्ने देखिएको वडाध्यक्ष कुलुङले बताउनु भयाे । 

नेपालमा प्याराग्लाइडिङ गर्न आउने विदेशी पर्यटकको सङ्ख्या दिनुहुँ बढिरहेकाले यस्ता कार्यक्रमहरु अघि सार्न सके पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने प्रशिक्षक सानो बाबु सुनुवारले बताउनुयो ।

‘सोलुखुम्बु जस्तो विश्वको शिर रहेको जिल्लाको आकाशमा प्याराग्लाइडिङको सफल उडान भर्न पाउँदा खुसी छु, यहाँको हरेक दृष्य र हरेक भूगोल नै लोभलाग्दा छन्, लाग्छ आकाशमा नै उडिरहुँ जस्तो ।’, उहाँले भन्नुभयो ।

साहसिक पर्यटनका रुपमा लिइने प्याराग्लाइडिङकै लागि विभिन्न देशबाट बाह्य पर्यटकहरु नेपाल आउने भएकाले यसको विकासमा जुट्नुपर्ने पाइलट मोहन कुमार सुनुवारले बताउनुभयो ।

विशेष गरी पर्यटकले साहसिक पर्यटनका रुपमा प्याराग्लाइडिङलाई लिने गरेको र त्यसका माध्यमबाट प्राकृतिक दृश्यावलोकनको भरपुर आनन्द लिन सकिने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया