सोलुखुम्बुमा चौरी पालन व्यवसाय सङ्कटमा

 असार १८, २०८० सोमबार १२:४३:१९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुमा किसानहरु चौरी पालन पेसाबाट पलायन हुने क्रम बढेको छ । पेसामा बढी कष्ट सहनुपर्ने र आम्दानी कम हुने भएपछि नयाँ पुस्ता पेसाबाटै पलायन हुने क्रम बढेको हो । विगत १० वर्षको तुलनामा चौरी पालन ९० प्रतिशतले घटेको चौरी पालन महासङ्घका जिल्ला अध्यक्ष नुरु शेर्पाले बताउनुभयो।

उहाँका अनुसार अहिले सोलुखुम्बु जिल्लामा लगभग १ सय ५० जना कृषकले ५ हजार चौरी तथा याक पालन गर्दै आइरहेका छन् । आफ्नो पुर्ख्याैली पेसा चौरी पालन भए पनि विभिन्न कठिनाइका कारण चौरी पालन छाडेर छुर्पी, सेरग्याम, घिउ लगायतका अन्य दूग्धजन्य वस्तुको व्यापार गरिरहेको सोलुदूधकुण्ड नगरपालिका-४ फाप्लुका सार्की शेर्पाले बताउनुभयो ।

चौरी पालनका लागि खर्क पुग्नुपर्ने, चरण क्षेत्रमा निषेध हुने, बजारीकरणको समस्या हुने र गोठमा बस्ने कामदार नपाउने जस्ता कारणले व्यवसाय परिवर्तन गरेको शेर्पाको भनाइ छ । आम्दानी उस्तै भए पनि चौरी पालनभन्दा त्यसबाट बनेका दूधजन्य पदार्थ बेच्न सहज हुने उहाँले बताउनु भयाे । 

सोलुदूधकुण्ड नगरपालिकाकै अर्का चौरी पालक व्यवसायी रिञ्जी शेर्पाले विगतको तुलनामा चौरी पालन व्यवसायमा युुवाहरुको आकर्षण घटेकाे बताउनु भयाे । चरिचरणका लागि जङ्गलमा छाडिएका चौरीलाई जङ्गली जनावरहरुले आक्रमण गर्दा निकै समस्या भएकाे उहाँले बताउनु भयाे । 

त्यस्तै १८ वर्षदेखि चौरी पालन गर्दै आएका सोलुखुम्बु टाक्टोरका व्यवसायी देण्डी शेर्पा भन्नुहुन्छ, 'जङ्गली जनावरको आक्रमण त हुने नै भयो प्रत्येक १२/१५ दिनमा गोठ स्थानन्तरण गर्न निकै कठिनाइ हुने गर्छ ।' गोठमा बस्ने जनशक्तिको अभाव हुँदा सार्ने बेलामा मान्छे खोज्नु पर्ने र भनेको बेला मान्छे नपाउँदा गोठ स्थानान्तरणमा समस्या हुने गरेकाे उहाँले बताउनु भयाे । 

जिल्लाको ८ पालिकामध्ये थुलुङ दूधकोशी र नेचासल्यान गाउँपालिका बाहेकका अन्य पालिकाहरुमा धेरथोर चौरी पालन गर्ने कृषकहरु रहेका चौरी पालन व्यवसाय महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया