साल्ट ट्रेडिङकाे डिपोमा तोडफोड भएपछि जुम्लाका वडामा नुन पठाउने तयारी

 साउन २, २०८० मंगलबार १३:४७:५९ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लामा नुन सहजै नपाएको भन्दै स्थानीयवासीले डिपोमा तोडफोड गरेपछि वडामै नुन पठाउने तयारी गरिएको छ । स्थानीय प्रशासनले नुनको व्यवस्थापन प्रभावकारी बनाउन वडामै पठाउने तयारी गरेको हाे ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले डिपोमै तोडफोड भएको घटनाको विषयमा नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लासँग जानकारी लिइएकाे बताउनु भयाे । नुनकाे प्रभावकारी व्यवस्थापनका लागि वडामै वितरण गर्न निर्देशन गरिएको उहाँले बताउनु भयाे । उहाँले यो भन्दा पहिला पनि वडामा पठाउने निर्णय भइसकेकाले वडाबाटै वितरण गर्दा नागरिकलाई जिल्ला सदरमुकाम आउन दु:ख नहुने उहाँले बताउनु भयाे।

नुनका लागि लाइनमा लागेका जुम्लाका स्थानीयवासीले असार ३१ गते आइतवार डिपोमा ढुङ्गामुढा गरेका कम्पनीका प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

'नुन वितरण भइरहेको समयमा ढुङ्गामुढा हुँदा डिपो कार्यालयमा क्षति भएको छ', मल्लले भन्नुभयो, 'म सिञ्जामा नुन वितरण गर्न गएको थिएँ, सदरमुकामको डिपोमा अन्य कर्मचारीले नुन बाँडिरहेको समयमा तोडफोड हुँदा कार्यालयको मुख्य ढोकामा क्षति भएको  छ ।'

गएकाे वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले कार्यालयमा नुनको अभाव नभएको साल्ट ट्रेडिङकाे दाबी छ । यहाँको सिञ्जा क्षेत्रमा पर्ने तीन पालिकाका लागि नराकोटमा नुनको उपशाखा कार्यालय स्थापना गरी नुन वितरण भइरहेको कार्यालयले जनाएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिकाका नागरिकले सदरमुकाम खलङ्गामा रहेकाे नेपाल खाद्य संस्थान कार्यालयबाट नुन लिँदै आएका छन् । 

पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले भने डिपो नहुँदा गाउँपालिकाका नागरिकले निक्कै सास्ती पाएकाे गुनासाे गर्नुभयाे । डिपाे स्थापनाका लागि पटक-पटक पहल गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया