आन्तरिक राजश्व कार्यालयद्वारा जुम्लामा करदाता शिक्षा

 साउन ३, २०८० बुधबार १३:१३:५४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाका गाउँमा करदाता शिक्षा दिन शुरु गरिएको छ । आन्तरिक राजश्व कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले करदाता शिक्षा दिन शुरु गरेको हो ।

सरकारले राजश्व बढाउने उद्देश्यले व्यवसायीलाई करको दायरमा ल्याउन तथा समयमै व्यवसाय नवीकरण गर्ने उद्देश्यले करदाता शिक्षा शुरु गरिएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ ।

पतारासी गाउँपालिकाको लासी बजारमा सञ्चालित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत खेमप्रसाद उपाध्याय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाका, नेपाल पत्रकार महासंघ, नेपाल प्रहरी सहितको टोलीले कर शिक्षा दिँदै आएको छ ।

टोलीले पछिल्लो समयमा पातारासी गाउँपालिकाको लासी र उर्थु बजारमा अनुगमन गरेर व्यापारीलाई करदाता शिक्षा दिएको छ । लासी बजारका करिब डेढ दर्जन व्यवसायीलाई करदाता शिक्षा तथा जनचेतना दिइएको छ ।

कर अधिकृत खेमराज उपाध्यायले व्यवसायी सबैले करदाता सेवा कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्न गर्नुरोध गर्नुभयो । उहाँले पसल वा होटलमा पान नम्बर अनिवार्य रुपमा टास्न पनि अनुरोध गर्नुभयो ।

कर अधिकृत उपाध्यायले व्यवसाय दर्ता नगरी अवैध रुपमा सञ्चालन गरेमा कानुन बमोजिम ठूलो समस्या हुने बताउँदै पान वा भ्याटमा दर्ता गर्दा चाहिने आवश्यक प्रक्रियाका वारेमा जानकारी गराउनु भयो ।

त्यस्तै उपाध्यायले सरकारलाई तिर्नुपर्ने कर तिर्ने व्यक्ति सचेत र सभ्य नागरिक भएको बताउनु भयो । साथै बिल कहिले पनि खाली नदिन सचेत गराउँदै खाली बिल दिएर बिलको दुरुपयोग गर्दा कानुनी कारबाहीमा परिने कुराको पनि जानकारी दिनुभयो । 

गाउँपालिकाका बजारसँगै जुम्लाको सदरमुकाम खलंगा, कालिकोट र मुगुमासमेत करदाता शिक्षा दिएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जानकारी दिएको छ । 

त्यस्तै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले म्याद गुज्रेका सामग्रीले मानिसको स्वास्थ्यमा असर पुरयाउने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले पसलमा एक भन्दा बढी सामग्री एकै स्थानमा राख्न नमिल्ने बताउँदै मदिरा सँगै अन्य किराना राख्न नमिल्ने बताउनु भयो । उहाँले मदिरा राख्दा अनिवार्यरुपमा अन्तशुल्कमा दर्ता हुनुपर्ने बताउनुभयो । 

टोलीले पातारासी गाउँपालिकाको लासी बजार र उर्थुमा बजार अनुगमन पनि गरेको थियो । बजार अनुगमनमा म्याद नाघेका खाद्य वस्तुहरु नष्ट गरिएको थियो । २८ वटा पसलमा अनुगमन गरिएकोमा दुई हजार छ सय ५० रुपैयाँ बराबरको सामानसमेत नष्ट गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया