कमला नदीमा काठको पुल : दूरी छोटियो तर स्थायित्व छैन

 साउन ९, २०८० मंगलबार १३:१२:४९ | रासस
unn.prixa.net

तस्बिर : रासस

सिरहा - वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा कमला नदी ।

भौगोलिकरूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम मानिने तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग । अझ भनौँ, मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीकोे राष्ट्रिय गौरवको आयोजना ।

झन् उदेकलाग्दो कुरा त १२ वर्षदेखि निर्माणाधीन कमलाको पुल अझै कहिले बन्ने हो कुनै अत्तोपत्तो छैन । बर्खायाममा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयलाई नातेदारसँग भेटघाट गर्न र आफूले गरेको खेतीपातीको गोडमेल तथा रेखदेख गर्नका लागि आवतजावत गर्न जुगौँदेखि सास्ती खेपिरहनुपरेको छ ।

हुलाकी लोकमार्गअन्तर्गत सिरहाको बसपिट्टा र धनुषाको साघारासम्म एक किलोमिटरसम्म कमला नदी फैलिएको छ । नदीमा पुल समयमा नबन्दा सिरहा र धनुषाका कयौँ गाउँका नागरिक समस्यामा छन् । स्थानीयवासीहरूलाई आवतजावत गर्नलाई कि त पूर्वपश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करिब दुई घन्टा लामो यात्रा गर्नुपर्छ कि नदीमा जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्छ । त्यो पनि त्यति सहज छैन ।

यही समस्यालाई सम्बोधन गर्न सिरहा नगरपालिकाले अस्थायी प्रकृतिको बाँसको टेका लगाएर काठको पुल बनाएको छ । याे पुल आइतवारदेखि सञ्चालनमा आएको पनि छ । याे पुलमा अब मोटरसाइकल तथा पैदलयात्री निःशुल्क यात्रा गर्न सक्नेछन् । तर काठको पुलले यो बर्खायाम धान्नेमा शङ्का व्यक्त गर्छन् स्थानीय मोहनकुमार दास । 'लामो समयदेखि निर्माणाधीन पक्की पुल नबन्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो । काठको यति सामान्य पुल बन्दा पनि खुसी व्यक्त गर्नुपर्ने अवस्था छ । जसोतसो कामचलाउ काठको पुल त बन्यो तर कहिलेसम्मलाई हो भन्न सकिँदैन', उहाँ भन्नुहुन्छ,'नदीमा अलि ठूलो बाढी आयो भने यो बनेको पुल पनि बगाएर लैजान्छ । फेरि समस्या उस्ताको उस्तै ।'

सिरहा नगरपालिकासँग समन्वय गरी काठको पुल बनाउनका लागि पहल गर्नुहुने स्थानीय युवा रामचन्द्र यादव भन्नुहुन्छ,'स्थानीय बासिन्दा र यस हुलाकी लोकमार्गमा आवतजावत गर्ने यात्रीलाई बर्खामास नदीमा बाढी आइ कठिनाइ हुने भएकाले आवतजावत गर्नलाई सहज होस् भनी नगरपालिकासँग पहल गरिएको हो । यसमा नगरपालिकाले पनि सकरात्मकरूपमा लिएर पुल बनाउने काम गरेको छ, जुन सराहनीय छ । यसले गर्दा यात्रुको समयको बचत तथा दूरीलाई छोटो बनाएको छ । दैनिक दुई सयभन्दा बढी मोटरसाइकल तथा हजारौँ पैदलयात्रीलाई सहज भएको छ ।'

नदी पारिपट्टि आफ्नो खेतीपातीको हेरचाहमा जानलाई अब तत्काललाई भए पनि समस्या टरेको छ सुभकान्त यादवलाई । सिरहा नगरपालिका–६ स्थायी घर भएका उहाँलाई नदी वारपार गर्न मात्र सहज भएको छैन, कृषि उपजलाई बजारसम्म लैजान पनि सहज भएको छ ।'खेतीपाती गर्नका लागि नदीबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थियौँ । काठकै अस्थायी पुल भए पनि हामीलाई सहज भएको छ', उहाँले खुसीको भाव व्यक्त गर्दै भन्नुभयो,'अब पारिपट्टिको खेतबारीमै तरकारी तथा बालीनाली सडेर नजाने भयो ।'

बाँसको पुल बनिसकेपछि सिरहा चोहर्वाका मोहम्मद साहिबलाई त्यही बाटो हुँदै धनुषाको कमला–४ मा रहेकाे ससुराली घर जानका लागि सहज भएको छ । उहाँले खुसी हुँदै भन्नुभयो,'पूर्वपश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर जानुपरेको भए मलाई दुई घन्टा बढी लाग्ने थियो । यही काठकै पुल भए पनि ठूलो राहत मिल्यो', त्यस्तै आफ्ना सात वर्षीय र नौ वर्षीय बच्चा लिएर सिरहा सदरमुकामबाट धनुषाको कमला –९ स्थित माइतीघर हिँड्नुभएकी मनिषा मण्डलले हर्षित हुँदै भन्नुभयो,'बालबच्चा लिएर नदी पार गर्न निकै कठिन थियो । अब ढुक्कसँग माइत पुग्न सकिने भयो । उता (माइती) बाट पनि कुनै चिन्ता लिने कुरा भएन ।'

हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भासिएको थियो । विसं २०६८ सालमा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो, तर पटक–पटक म्याद थपेर करिब १० वर्ष लाग्यो । निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइ उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ साल असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो ।

यही अनिश्चितताका बीच निर्माण कम्पनीले आउँदाे चैत मसान्तसम्म भासिएको पुल पुनःनिर्माण गर्ने गरी पुनः काम शुरु गरेकोे थियो तर कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम असार नलाग्दै रोकिएको छ । निर्माण कम्पनीका अनुसार आउँदाे असोजबाट रोकिएको पुल निर्माणको काम पुनः शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया