तुइनकाे माध्यमबाट एक दर्जन गाडी काेशी तारियाे

 भदौ २२, २०८० शुक्रबार १७:५४:३२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको दूधकोशीपारि फसेका एक दर्जन गाडी तुइनकाे माध्यमबाट कोशीवारि तारिएको छ । दूधकोशीमा आएको बाढीका कारण बेलिब्रिज क्षतिग्रस्त भएपछि कोशीपारि फसेका १२ वटा गाडी तुइनको माध्यमबाट कोशी तारिएको हो ।

गएकाे भदौ ७ गते आएको बाढीले थुलुङ दूधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाको सिमाना दिप्लीघाटमा रहेकाे दूधकोशीमाथिकाे बेलिब्रिजमा क्षति पुर्‍याएको थियो । बेलिब्रिज क्षतिग्रस्त भएपछि कोशीपारिका पालिकाहरू सोताङ र महाकुलुङ गाउँपालिका क्षेत्रमा गएका ६० वटाभन्दा बढी गाडी रोकिएको थियो । ती गाडीमध्ये १२ वटा गाडीलाई हाइड्रोपावरको समन्वयमा तुइनको माध्यमबाट कोशीवारि तारिएको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले बताउनुभयाे । गाडी तार्नका लागि थुलुङ दूधकोशी गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष असिम राईले बताउनुभयाे ।

बाढीले मोटरेबल पुलको पिलरमै क्षति पुगेसँगै जिल्ला सदरमुकाम र कोशीपारिका क्षेत्रहरू सोताङ र महाकुलुङको सवारी आवागमन ठप्प बनेको छ । जसका कारण कोशीपारि जाने गाडी तथा कोशीपारिबाट सल्लेरी, काठमाण्डौलगायतका स्थानका लागि सञ्चालन हुँदै आएको यातयात सेवा राेकिएकाे छ । याे पुल कोशीपारिका क्षेत्र जाने एक मात्र सडक मार्ग हो । सिधा सडक सञ्चालन बन्द भएपछि जिल्लाको कोशीपारिका सोताङ र महाकुलुङ गाउँपालिकामा दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढेकाे स्थानीयले बताएका छन् ।

बेलिब्रिज निर्माणको चरणमा रहेकाले केही महिनापछि सिधा सवारी सञ्चालन हुने थुलुङ दूधकोशी गाउँपालिका–७ का वडाध्यक्ष भोजराज कार्कीले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया