आत्महत्याको अवस्थासम्म पुर्‍याउने कारण र रोकथामको उपाय

 भदौ २४, २०८० आइतबार १३:८:४७ | डा. लता गौतम
unn.prixa.net

मान्छेले आफूले आफूलाई समाप्त गर्ने निर्णय गरेर आफ्नो जीवन समाप्त पार्नु नै आत्महत्या हो । यो चाहिँ आत्महत्याको प्रयास मात्र नभएर आत्महत्या नै भयो ।

मान्छेले आफ्नो सानो अङ्गमा घाउ, चोट लाग्दा त कति दुख्छ अनि कति संवेदनशील हुन्छ यसका बारेमा । तर, आफूले आफैँलाई समाप्त गर्ने घोषणा कसरी गर्छ होला भन्ने सुन्दा हामीलाई पनि अचम्म लाग्छ । तर, आत्महत्याको निर्णयसम्म आइपुग्नु अगाडि त्यसका पछाडि धेरै ठूला ठूला कारण हुन्छन् ।

आत्महत्या गर्नेहरुमा सबैभन्दा देखिएको पहिलो कारण भनेको मनोरोग नै हो । यस्तो सोच आएका मान्छेमा कुनै न कुनै रुपमा मनोरोगले ग्रस्त भएकै हुन्छन् । यसमा ८० प्रतिशत उदासीपन अर्थात् डिप्रेसनको कारण हुन्छ । यो रोगमा मान्छेलाई दिक्क लाग्ने, मन खुशी नै हुन नसक्ने, जीउमा थकावट धेरै लाग्ने, जिन्दगी अनि भविष्यप्रति एकदमै नकारात्मक सोच आउने । अब मेरो त भविष्यमा कुनै बाटो नै छैन भन्ने हुन्छ । यस्तो सोच आइसकेपछि मान्छेमा भित्रैबाट जीवन समाप्त गर्छु अर्थात् आत्महत्याको आँट आउन थाल्छ । त्यसले मानिसलाई आत्महत्या गर्नतिर प्रेरित गर्छ । यसबाहेक अरु पनि थुप्रै कारण छन् आत्महत्याका । 

आत्महत्याका कारणहरु 

आत्महत्याको मुख्य कारण भनेको नै डिप्रेसन हो । अर्को भनेको व्यक्तित्व विकार वा भनौँ पर्सनालिटी डिसअर्डर हो । यसमा चाँडै आवेगमा आउने, जेसुकै होस् भनेर सोच्ने, त्यो क्षणिक समयमा आफ्ना भावनालाई नियन्त्रण गर्न नसक्ने, भावनाको एकदमै उतारचढाव हुने मानिसमा आत्महत्याको सोच आउने हुन्छ । यस्ता भावना नियन्त्रण गर्न नसक्दा उनीहरुले आवेगमै आत्महत्या गरेको पाइन्छ । 

अर्को भनेका साइकोसिस वा सिजोफ्रेनिया जस्ता कडा मानसिक रोग लागेका मान्छेले पनि आत्महत्या गर्न सक्छ । यस्तो रोग लागेका झण्डै १० प्रतिशत मान्छेमा आत्महत्याको सोच आउँछ । यस्ता मान्छेहरु वास्तविकताभन्दा टाढा रहने हुन्छ । उनीहरुलाई आफूलाई रोग लागेको छ भन्ने पनि थाहा हुँदैन । उनीहरुको सोच, विचार भावना नै अर्कै हुन्छ । संसार नै अर्कै हुन्छ ।

अत्यधिक जाँडरक्सी खानु पनि अर्को कारण हुनसक्छ । अन्य लागुपदार्थ सेवनमा पनि यो कारण हुनसक्छ । तर, हाम्रो अध्ययनमा अत्यधिक जाँडरक्सी खाने झण्डै १० प्रतिशतले आत्महत्या गर्ने गरेको पाइएको छ । 
अर्को भनेको दीर्घकालीन रोगका कारण ओछ्यान परेका बिरामीहरु त्यस्तै दीर्घकालीन नशा रोगका समस्या भएकाहरुले पनि आत्महत्या गर्ने गरेको पाइन्छ । 

यी कारणले आत्महत्याको अवस्थासम्म पुर्‍याउन सक्छ

यसको एउटा कारण भनेको वंशाणुगत कारण हुनसक्छ । त्यो व्यक्तिले जन्मजात लिएर आएको हुन्छ । अर्को भनेको वातावरण अनि मनोसामाजिक कारण पनि हुनसक्छ । यी सबै कुराहरुको सामञ्जस्य हुन जाँदा आत्महत्या जस्तो गम्भीर दुष्परिणाम हुनजान्छ । 

कसैको परिवारमा आत्महत्या गरेको इतिहास रहेछ भने त्यस्ता परिवारका मानिसमा आत्महत्याको सम्भावना अधिक हुन्छ । यस्ता परिवारका मानिसलाई अलि विशेष निगरानीमा राख्नुपर्ने हुन्छ । यस्तो परिवारमा आर्थिक अवस्था र अरु सबै कुरा राम्रो छ भने पनि वातावरणले केही नकारात्मक असर पार्यो भने यस्ता परिवारका मानिसमा आत्महत्याको सम्भावना धेरै हुन्छ । 

देश बिग्रियो, समाज राम्रो भएन, आफ्नो पनि आर्थिक अवस्था राम्रो भएन, जीवनमा ठूला दुर्घटना आइपरे भने यी पनि आत्महत्याको कारण बन्न सक्छ । यो सबै मनोसामाजिक कारणमा पर्छ । हाम्रो अध्ययनमा आत्महत्याको प्रमुख कारण भनेको डिप्रेसन नै हो । अब अगाडि मेरो समस्याको कुनै समाधान नै छैन भन्ने लाग्यो भने मान्छे आत्महत्या गर्न प्रेरित हुन्छ ।

आत्महत्याको प्रयास गर्नेमा महिला र आत्महत्या गर्नेमा पुरुष बढी

नेपाल प्रहरीको तथ्याङ्कले किशोरावस्थामा महिला र प्रौढमा पुरुषले बढी आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । तर, हामीले हेर्दा भने आत्महत्याको प्रयास गर्नेमा महिला र आत्महत्या नै गर्नेमा भने पुरुषहरु बढी रहेको देखिन्छ । महिलाहरुमा त्यो आँट नभएर हो कि । महिलाहरुले प्रयास गर्छन् तर असफल भएर डाक्टरकोमा आइपुग्ने गरेको देखिन्छ । यस्तोमा डाक्टरले राम्रो समय दिने, गोपनीयता कायम राख्ने हो भने महिलाहरु आफ्नो मद्दतको लागि अगाडि सरेर आउनुहुन्छ । तर, पुरुषहरु भने प्रयास मात्र होइन निर्णय नै गर्नुहुन्छ र डाक्टरकोमा समस्या पर्दा मद्दतको लागि पनि आउनुहुन्न । 

महिलाहरुको स्वभाव भनेको आफ्नो कुरा अरुहरुलाई भन्ने खालको हुन्छ । साथीभाइ, छरछिमेक सबैलाई उनीहरु आफ्नो कुरा भनिरहेका हुन्छन् । तर, पुरुषहरु भने कामतिर धेरै केन्द्रित गर्ने स्वभावले होला सानातिना समस्या अरुलाई भन्नुहुन्न । त्यसै पचाइदिनुहुन्छ । सानोतिनो समस्या भनेर हिँड्ने गर्नुहुन्न । अनि धेरै साह्रो भएपछि आइपुग्नुहुन्छ । तर, महिलाहरु भने सानो सानो समस्या पनि देखाउनुपर्छ भनेर पुरुषलाई पनि लिएर आइपुग्नुहुन्छ ।

आफ्नो कुरा भन्न नसक्दा समस्या

हामी त बिरामीको अवस्था हेरेर यस्ले आत्महत्या गर्न सक्छ भनेर थाहा पाउँछौँ । तर, यसो भन्दैमा कुन बिरामीले कतिखेर गएर आत्महत्या गर्छ भनेर भन्न सकिँदैन । किनकि यस्तोमा उहाँहरु खुलेर कुरा गर्न सकिरहनु भएको हुँदैन । यसको मुख्य कारण त फेरि डिप्रेसन नै हो । कहिलेकाहीँ डिप्रेसन भएकालाई चिन्न सकिँदैन । किनकि आफ्नो समस्या भन्यो भने पागल भएछ, बहुलाएछ भनेर समाजले भन्ने हुँदा पनि यस्ता बिरामी खुलेर आउन सक्दैनन् । 

कतिको भने परिवारले नै यति सानो कुराका लागि पनि किन अस्पताल जाने भन्नुहुन्छ । यो त सामान्य कुरा हो । अलिअलि उदासीपन त मान्छेलाई भइहाल्छ नि भन्ने चलन पनि छ । यसो गर्दा डिप्रेसनका बिरामी डाक्टरकहाँ आइपुग्न पाउँदैनन् । 

आत्महत्या गर्न खोज्ने व्यक्तिले देखाउने लक्षण 

मन दुःखी हुनु । उदास हुनु । खुशी हुनै नसक्नु । एक्लै बस्न रुचाउनु । बोलिरहने मान्छे बोल्न छोडनु । अरु बेलामा परिवारसँग बस्ने मान्छे एक्लै कोठामा बस्न थाल्नु । पढ्ने मान्छेले पढ्न छोड्यो । काम गर्ने मान्छेले काम गर्न छोड्यो । केही केही बहाना बनाएर कता, कता हराइरहन्छ । नरिसाउने मान्छे रिसाउन थाल्यो । अत्यधिक डराउने । लुक्ने । घरभित्र लुकेर बस्ने । बाहिर कोही आउँदैछ भन्ने । शङ्कालु अनुहार बनाउने ।

नभएको कुरा भन्ने । मेरो परिवारलाई फलानोले मार्न खोज्दैछ, परिवारका सदस्यलाई तिमीहरु पनि लुक भन्ने । सामान्य जीवन बिताइरहेको मान्छेले एकाएक अस्वाभाविक र असामान्य क्रियाकलाप गर्यो भने यस्ता लक्षण बढ्दै गएर आत्महत्याको अवस्थासम्म पुर्याउन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । कहिलेकाहीँ अत्यधिक जाँड रक्सी खाने मान्छेले एक्कासी जाँडरक्सी छोड्यो भने उसलाई कानमा आएर कसैले केही भने जस्तो, थर्काउने, धम्क्याउने गरे जस्तो भ्रम हुन्छ । जस्ले गर्दा मान्छेलाई आत्महत्याको बाटो रोज्न बाध्य बनाउँछ ।

कसैकसैले भने अब बाँचेर के काम । बोझ भएँ परिवारका लागि । मैले गर्दा परिवारले दुःख पाए । यस्तो जीवन बाँच्नुभन्दा समाप्त गर्नु राम्रो भन्ने कुरा भनिरहेको हुनसक्छ । कहिलेकाहीँ आकस्मिकरुपमा पनि मान्छेले आत्महत्या गरेको हुनसक्छ । आवेगमा आउनेहरुले भने अकस्मात आत्महत्या गर्छन् ।

घरपरिवारको भूमिका

सबैभन्दा पहिले परिवारले कुरा बुझ्ने र खुलेर कुरा गर्न खोज्ने । त्यसो गर्न सकिएन वा सकियो भने पनि त्यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्यकर्मीकहाँ लिएर जाने । कहिलेकाहीँ गृहकार्य नगर्दा शिक्षकले गाली गर्छन् भनेर डराउने, साथीभाइले जिस्क्याए स्कुल जान्न भनेर सामान्य जिद्दी गर्दा घरपरिवारले सम्झाएर यस्ता समस्या हल गर्न सकिन्छ । तर, अलि बढी भयो भने मनोचिकित्सककहाँ नै लिएर जानुपर्ने हुन्छ ।

साथीभाइको भूमिका

घरपरिवारभन्दा पनि साथीभाइ अझ नजिक हुने हुनाले उनीहरुले हाउभाउ सधैँ देखिरहेका हुन्छन् । स्वभाव, व्यवहारमा परिवर्तन आयो भने के कारणले किन भयो भनेर बुझ्ने । परिवारलाई खबर गर्ने । 

समाजको भूमिका

समाजमा पनि त्यस्ता मान्छे देखिए भने त्यस्ता मान्छेसँग कुरा गर्न नभ्याए पनि डाक्टरकहाँ लान मद्दत गर्ने । घरपरिवार सोधेर परिवारको जिम्मा लगाउने र डाक्टरकहाँ लैजान अनुरोध गर्ने ।

स्कुल/कलेजको भूमिका

केटाकेटीले घरमा भन्दा धेरै समय स्कुलमा बिताउने हुँदा शिक्षकले विद्यार्थीको आनीबानी स्वभाव याद गर्नुपर्ने हुन्छ । बालबच्चामा के कस्ता समस्याहरु आउन सक्छन् भन्ने कुरा शिक्षकलाई पनि एक प्रकारको तालिम दिनुपर्ने हुन्छ । राम्रा स्कुलमा यस्ता तालिम पनि दिएको पाइन्छ । अरु स्कुलले पनि यसो गर्दा राम्रो हुन्छ ।

स्वास्थ्यकर्मीको भूमिका

अहिले स्वास्थ्यकमीलाई यस्ता लक्षण देखिँदा सामान्य परामर्श दिने किसिमको आधारभूत तालिम दिइएको हुन्छ । त्यसकारण मनोचिकित्सक नै नभए पनि स्वास्थ्यकर्मीले आफैँले केही परामर्श दिनुहुन्छ । यदि उहाँहरुले त्यसो गर्न सक्नु भएन भने पनि नजिकको मनोचिकित्सकहाँ रिफर गर्न सक्नुहुन्छ । 

बिरामी पहिले इमर्जेन्सीमा वा ओपीडीमा आउने हुँदा त्यहाँ उहाँहरुको अरु स्वास्थ्य जाँच हुने कुरा छँदैछ । तर, त्यो बाहेक मानसिक समस्या भन्ने शंका लागेमा गोप्य कोठामा गोपनीयता कायम गरेर कुरा गर्ने वातावरण बनाउनु पर्ने हुन्छ । बिरामीलाई अलि समय दिँदा समस्या खुलेर आउँछ । शुरुको परामर्श दिएर डाक्टरकहाँ रिफर गर्नुपर्ने हुन्छ ।

काठमाण्डौ, ललितपुर भक्तपुरमा परमार्श दिने र मानसिक रोगको उपचार गर्ने यस्ता अस्पताल र जनशक्ति दुवै पर्याप्त छ । सबै स्वास्थ्यकर्मीलाई मानसिक रोगको आधारभूत तालिम सबै स्वास्थ्यकर्मीलाई दिइएको हुन्छ । 

तर, काठमाण्डौ बाहिरको हकमा पनि स्वास्थ्यकर्मीले पनि यदि मानसिक रोगको प्रारम्भिक चरणको परामर्श र उपचारको आधारभूत तालिम पाउनु भएको छैन भने पनि नजिकैको मनोचिकित्सककहाँ रिफर गर्न सक्नुहुन्छ । 

खुलेर भन्ने अवस्था छैन 

अरु रोग लाग्दा जसरी अस्पताल लैजान लागेको भनेर भन्न सकिन्छ मानसिक समस्या हुँदा वा शुरुको लक्षण देखिँदा पनि आफैँ वा परिवारका सदस्यलाई अस्पताल वा डाक्टरकहाँ लैजाँदैछु भन्ने अवस्था बनिसकेको छैन । यसो भन्दा ल यो पागल भयो वा यस्को परिवारको फलानो पागल भयो भन्ने अवस्था अहिले पनि छ । यो अहिले पनि ठूलै समस्या छ । मानसिक रोगलाई अहिले पनि कलङ्ककोरुपमा हेर्ने चलन अझै छँदैछ ।

मानसिक रोग लाग्यो भनेपछि पछिसम्म पनि समाजको हेर्ने दृष्टिकोण बदलिएको छैन । पछि बिहेवारीमा समस्या आउला भनेर खुलेर अगाडि आउँदैन । यो भ्रम चिर्ने सबैभन्दा ठूलो समस्या पनि छ अहिले मानसिक स्वास्थ्यको क्षेत्रमा । यसमा हामी जस्ता डाक्टरहरु लागिपरेका छौँ । तर, पर्याप्त भने छैन । यसको लागि भने जनचेतना फैलाउन नै जरुरी छ ।

मानसिक समस्या अरु रोग जस्तै हो

मानसिक समस्या पनि अरु रोग जस्तै हो । उपचार गरे मानसिक रोग पनि ठीक हुन्छ । लाज, धक नमानी उपचार गरे मानसिक समस्या पनि ठीक हुन्छ भनेर परिवार, समाज सबैले बझ्नु आवश्यक छ ।

याे रोग पनि अरु रोग जस्तै हो । यसलाई यदि शुरुमै पहिचान गर्न सकियो र उपचारमा जान सकियो भने ठीक हुन्छ भन्ने सन्देश सबैले दिनुपर्यो । यदि परिवारमा समस्या भएका मानिसलाई उपचार गरेर ठीक भयो भने अरु रोगीलाई पनि उपचार गर्दा ठीक हुन्छ भनेर हौसला दिनुपर्छ ।

मानसिक समस्या हुन नदिन के गर्ने ?

व्यक्तिले आफूलाई मानसिक समस्या हुन नदिन पहिलो कुरा त अनुशासित जीवन बिताउने गर्नुपर्छ । त्यो भनेको अरु स्वास्थ्य ठीक राख्नका लागि व्यायाम जति जरुरी छ मानसिक स्वास्थ्य ठीक बनाउन पनि व्यायाम त्यत्तिकै जरुरी छ । पर्याप्त निद्रा । छ देखि आठ घण्टा राम्रोसँग सुत्ने । राति बसेर काम गर्दा पनि निद्रा बिग्रने र मानसिक समस्या आउने सम्भावना हुन्छ । समयमा पौष्टिक खानेकुरा खाने । मानिसको जीवनमा अनेक उतारचढाव आइरहेको हुन्छ सकिन्छ भने त्यसलाई आफैँले व्यवस्थापन गर्ने । होइन सकिँदैन भने परिवार, साथीभाइको मद्दत लिने गर्नुपर्छ । तनावको व्यवस्थापन पनि त्यस्तै हो । सकिन्छ भने आफैँ व्यवस्थापन गर्ने । यदि आफूले तनाव व्यवस्थापन गर्न सकिँदैन भने परिवार, साथीभाइको सहयोग लिने । साथीभाइसँग भेटघाट, मनोरञ्जन गर्ने । 

घरपरिवारमा पनि सहज वातावरण कायम गर्न सकियो भने मानसिक समस्या नै आउँदैन । त्यसकारण खुलेर कुरा गर्ने । कहिलेकाहीँ परिवारमा विवाद भइहाल्यो भने पनि आफ्नो र अरुको भावना पनि बुझ्ने । मानसिक अवस्थाका बारेमा विचार गर्ने । बुझेर बोल्ने । बुझेर व्यवहार गर्ने । 

मानसिक समस्या नियन्त्रण गर्न पालिकाले के गर्ने ?

पालिका एउटा समाज पनि भएकोले मानसिक समस्या वा लक्षण कसैमा देखिएको छ भने यसरी हुँदैन यसको उपचार गर्नुपर्छ । यो पनि अरु रोग जस्तै सामान्य रोग हो । उपचार गर्दा ठीक हुन्छ भनेर सन्देश दिने महत्त्वपूर्ण काम पालिकाले गर्न सक्छ । 

कोही परिवार मानसिक रोगको उपचारमा जाँदा समाजले के भन्ला, अरुले थाहा पाउँछन् कि भनेर समस्या लुकाएर बसिरहेको हुनसक्छ । यस्तो परिवारलाई हौसला दिएर उपचारमा जानुपर्छ र उपचारमा जाँदा ठीक हुन्छ भन्ने महत्त्वपूर्ण सन्देश दिन पनि पालिकाको ठूलो भूमिका हुन्छ ।

उपचारमा अलमल भएकाहरुलाई पनि पालिकाका अधिकारीले यहाँयहाँ यस्तो उपचार हुन्छ भनेर सामान्य जानकारी दिनसक्नुहुन्छ । आवश्यक परेमा केही आर्थिक सहयोग पनि गर्न सकिन्छ होला । 

मानसिक रोगका बारेमा अभियान पर्याप्त छैनन् 

मानसिक रोगका बारेमा अहिले घरपरिवार तथा समाजमा धेरै नै कुराहरु हुने गरेका छन् । उपचारपछि ठिक हुन्छ भन्ने सन्देश पनि केही मात्रामा गएको छ । यो सबै मानसिक रोगका बारेमा गरिएका प्रचार र अभियानका कारण हुन् । तर, यो पर्याप्त छैन । सबै ठाउँमा मनोचिकित्सक नपुगेको अवस्था छ । तर, स्वास्थ्यकर्मीले पनि सामान्य परामर्श र बिरामीलाई रिफर गर्न सक्ने अवस्था बनेको छ । यो अभियानकै कारण पनि सहज बनेको हो । 

हामीले बेलैमा मानसिक रोगका लक्षणहरु बेलैमा पहिचान गरेर उपचारमा जाउँ । उपचार गर्दा रोग निको हुन्छ । तर, यदि कसैको मनमा आत्महत्याको सोच आउने गरेको छ र नजिकै स्वास्थ्यकर्मी भेट्नु भएन भने टोल फ्री हेल्पलाइन नम्बर ११६६ मा फोन गरेर पनि परामर्श लिन सकिन्छ । यसमा फोन गर्दा पैसा लाग्दैन । जीवन अमूल्य छ यसलाई खेर नफालौँ । यो प्रकृतिको अमूल्य उपहार हो ।

(डा. लता गौतमसँगको कुराकानी बदलिँदाे नेपालमा  सुन्नुहाेस् ।)

अन्तिम अपडेट: साउन २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. लता गौतम

डा. लता गौतम मनोचिकित्सक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया