‘पुतली बाजे’ अर्थात् कोलिन स्मिथको निधन

 कात्तिक १८, २०८० शनिबार १६:१०:१७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – कोलिन स्मिथ अर्थात् ‘पुतली बाजे’को निधन भएको छ । गएको दुई महिनादेखि हरियो खर्क अस्पताल पोखरामा उपचाररत उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि शुक्रवार राति ३ बजे निधन भएको हो । कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ जसले पुतलीसँग रमाउँदा आफ्नो देश बिर्सेर नेपालमा बस्दै आउनु भएको थियो ।

कलिन स्मिथको योगदानको कदर गर्दै नेपाल सरकारले २ डिसेम्बर २०१९ मा उहाँलाई सम्मानार्थ नागरिकता प्रदान गरेको थियो । २९ वर्षको उमेरमा नेपाल आउनु भएका उहाँको ८८ वर्षको उमेरमा निधन भएको हाे । उहाँले आफ्नै मामाको पुतली सङ्कलन गर्ने सोखबाट प्रभावित हुँदै नेपालमा पुतलीको अध्ययन सहित पोखरा, गोरखा र काठमाण्डौमा पुतलीको शिक्षण पनि गराउनु भएको थियो ।

उहाँले नेपालको डाँडाकाँडा, भीर, पाखा र पखेरा पुगेर पाँच सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरी पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङ्ग्रहालयको स्थापना गर्नु भएको छ । पुतलीको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन उहाँको ठूलो योगदान रहेको छ ।  

यस्तो छ उहाँको योगदान

बेलायतका कोलिन स्मिथ पोखरामा माया गरेर ‘पुतली बाजे’ नामबाट चिनिनुहुन्छ । नेपालमा अध्यापन र पुतली सङ्कलकका रुपमा ५७ वर्ष बिताएपछि पुतली बाजेले तीन वर्ष अगाडि नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता पाउनु भएको थियो ।

उहाँ पोखरा महानगरपालिका वडा नम्बर १८ को लामागाउँमा बस्दै आउनु भएको थियो । २०२२ सालमा २९ वर्षको उमेरमा उहाँ युनाइटेड मिसनको शिक्षक भएर पहिलो पटक नेपाल आउनु भएको थियो । पोखराको लामाचौरमा रहेको गण्डकी बोर्डिंग स्कुलमा दुई वर्ष विज्ञान र गणित विषय पढाएर उहाँ गाेरखाको स्कुलमा पढाउन जानु भएको थियो । त्यहाँ उहाँले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र डा उपेन्द्र देवकोटालाई विज्ञान र गणित पढाउनु भएको थियो ।

गोरखामा २ वर्ष पढाएर उहाँ फेरि पोखरा फर्कनुभयाे र केही वर्ष पृथ्वीनाराएण क्याम्पसमा भाैतिक विज्ञान विषय अध्यापन गर्नुभयाे । सानैदेखि पुतलीप्रति रुचि भएका पुतली बाजेले बेलायतमै रहँदा एक वर्ष पुतली सङ्ग्रहालयमा काम गर्नुभएकाे थियाे । नेपाल आएदेखि नै पुतलीको खोज र सङ्कलनमा लाग्नुभएका उहाँले पढाउने काम छोडेर नेपालमा पाइने पुतलीको अनुसन्धान र खोजमा लाग्नुभयाे ।

५० भन्दा बढी जिल्ला पुग्नुभएका उहाँले नेपालमा ६ सय ५० जातिका पुतली पाइने कुरा पत्ता लगाउनु भयाे । जसमध्ये ५ सय ५० जातिका पुतली सङ्कलन गरिसक्नु भएकाे छ । उहाँले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाण्डाै विश्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियममा गरी २५ हजार पुतली सङ्कलन गरेर राख्नुभएकाे छ । पर्यावरणमा स–साना जीवको ठूलो महत्व हुने भएकाले पुतली अध्ययन र सङ्कलन अभियान थाल्नुभएकाे उहाँले पुतलीसम्बन्धी १० वटा किताब लेखिसक्नु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया