पोखराकाे लेकसाइड २४ सै घण्टा खुला राख्न उच्च अदालतको आदेश

 कात्तिक २२, २०८० बुधबार १६:५:१० | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा चाैबिसै घण्टा व्यापार व्यवसाय खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको रिट निवेदनमा उच्च अदालतले आज बुधवार आदेश दिएको हो ।

देवीकुमारी बरालको रिट निवेदनमा कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइड चाैबिसै घण्टा खोल्न आदेश गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिनुभयाे ।

अदालतले निवेदकलाई कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नू/नगराउनू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश दिएको हो ।

गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नं. २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा चाैबिसै घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिनेछ भन्ने व्यवस्था भएको भनी देवीकुमारी बरालले निषेध परमादेशसमेतको माग राखेर कात्तिक २१ गते रिट दायर गर्नुभएकाे थियाे ।

अदालतको आदेशमा विपक्षीहरूलाई सूचना तामेल भएको मितिले १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत भनिएको छ । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ताहरू शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गर्नुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया