मैत्रीपूर्ण फुटसल प्रतियोगिता : राष्ट्रियसभाको टोली प्रतिनिधि सभाको टोलीसँग ४–० ले पराजित

 मंसिर २६, २०८० मंगलबार १३:२५:५५ | रासस
unn.prixa.net

काठमाण्डौ - सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधि सभाकाे टाेली विजयी भएको छ । प्रतिनिधि सभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० गोलअन्तरले पराजित गरेको हो । 

भृकुटीमण्डपमा रहेकाे फुटसल कोर्टमा २० मिनेटसम्म भएको प्रतियोगितामा प्रतिनिधि सभाका लागि नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले दुई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले एक/एक गोल गर्नुभएको थियो ।

पहिलो र दोस्रो गोल  सांसद सापकोटाले, तेस्रो गोल सांसद श्रेष्ठले तथा चौथो गोल सांसद शर्माले गर्नुभएको थियो । प्रतिनिधि सभाको टोलीको नेतृत्व सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा टोलीको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । 

प्रतिनिधि सभाको टोलीमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा राना, सांसदहरु सापकोटा, श्रेष्ठ, शर्मा, मनिष झा, प्रदीप यादव र तारामान लामा हुनुहुन्थ्यो भने राष्ट्रियसभाको टोलीमा अध्यक्ष तिमिल्सिनासहित रमेशजङ्ग रायमाझी, गोपी अछामी, मायाप्रसाद शर्मा, डा खिमलाल देवकोटा, भैरवसुन्दर श्रेष्ठलगायत सहभागी हुनुहुुन्थ्यो । 

सभामुख घिमिरेले संसद् सेवा दिवसलाई मैत्रीपूर्ण फुटसल खेलेर उत्सवका रुपमा मनाउन लागिएको प्रतिक्रिया दिनुभयो । 'नेपालमा फुटसलको विकास भएको केही समय भयो, सानो ठाउँमा पनि फुटसलको अभ्यास गर्न सकिने भएकाले हामीहरु खेल प्रवर्द्धन गर्न र युवायुवतीलाई उत्साह प्रदान गर्न सहभागी भएका हौँ', उहाँले भन्नुभयो । राजनीति र फुटसल एकै प्रकारको भएको उल्लेख गर्दै उहाँले फुटसल भौतिक रुपमा र राजनीति विचारका रुपमा खेलिने बताउनुभयो । 

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले देशको चौतर्फी विकासका लागि खेल महत्त्वपूर्ण विधा भएको र यसले समूहमा काम गर्न तथा अनुशासन कायम गर्न सहयोग मिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, 'युवापुस्तालाई खेलकुदमा प्रोत्साहन मिलोस् भनेर प्रतियाेगितामा सहभागी भएका हाैँ, खेलकुदमा बालबालिका र युवा आकर्षित भइदिए मेसी र रोनाल्डोका मात्रै नाम किन लिने, आफ्नै देशका प्रतिभावान् खेलाडीको नाम लिने अवस्था आओस्, हामी त्यस दिशातर्फ लाग्नुपर्छ ।'

उपसभामुख रानाले सदनमा दबाबमा कानुन निर्माणको काममा सधैँभर लाग्नुपर्ने अवस्थाबाट केही समय मुक्त हुन फुटसललगायत खेलमा संलग्न हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'भलिबल र साइक्लिङमा आफ्नो रुचि भए पनि संसद् दिवसलाई रमाइलो तुल्याउन फुटसलमा सहभागी भएकी हुँ ।' प्रतियोगितामा पाँच महिलासहित कूल २२ फुटसल टोलीबीच प्रतिस्पर्धा भइरहेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया