पानीको अभावले पर्वत अस्पतालमा उपचार सेवा प्रभावित, छेउछाउका घरबाट मागेरै काम चलाइँदै

 माघ २४, २०८० बुधबार १८:३:२ | रासस
unn.prixa.net

पर्वत – पानीको अभावले पर्वतको एकमात्र सरकारी सुविधा सम्पन्न पर्वत अस्पतालमा उपचार सेवा प्रभावित भएको छ ।

नियमित स्रोतबाट आउने पानीले अस्पतालका बिरामीको उपचार, उपकरणलगायत अस्पतालको सरसफाइ र बिरामीका लागि समेत अपुग भएपछि समस्या परेको हो । अस्पतालमा दैनिक ३० देखि ४५ हजार लिटरसम्म पानीको आवश्यकता पर्ने भए पनि दैनिक १५ देखि १८ हजार लिटरमात्र उपलब्ध हुँदै आएको छ ।

आवश्यकताभन्दा ५० प्रतिशत कम पानीले दैनिक उपचार सेवा प्रभावित हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिनुभयो । अध्यक्ष गिरीका अनुसार अस्पतालमा हेमोडायलाइसिस सेवा शुरु भएपछि खानेपानीको सङ्कट गहिरिँदै गएको हो । दैनिकजसो सात वटा शय्यामा मिर्गाैलाका बिरामीको हेमोडायलायसिस हुँदै आएको छ । हेमोडायलायसिस गर्न मात्र झन्डै १० हजार लिटर पानी दैनिक खर्च गर्नुपर्ने भएपछि पानीको अभावले समस्या सिर्जना हुँदै आएको छ ।

डायलायसिससँगै अन्तरङ्ग, बहिरङ्ग, दन्त उपचार सेवा, एक्स–रे, सुत्केरी सेवा, शल्यक्रिया विभाग, बालबालिका विभागमा भर्ना भएका बिरामीको सरसफाइ तथा कार्यालय सहयोगी, स्वास्थ्यकर्मी र कर्मचारीको आवासलगायतका ठाउँमा दैनिक उपभोगका लागि पानीको अभाव देखिएको छ । पानी अभाव हुँदा छेउछाउका घरबाट मागेर समेत काम चलाउनुपर्ने बाध्यता रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीको किनारमा रहेको गोपाङ्गघाटको मूलबाट 'लिफ्टिङ' गरेर पानी ल्याउने गरी तयारी भइरहेको अस्पतालले जनाएको छ । यसका लागि गण्डकी प्रदेशको सामाजिक सुरक्षा तथा स्वास्थ्य मन्त्रालयबाट ५० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ । १५ शय्याकाे अस्पतालबाट ५० शय्यामा स्तरोन्नति भइरहेको अस्पतालमा अहिले ६३ वटा शय्यामा राखेर बिरामीको उपचार भइरहेको छ ।

अन्तिम अपडेट: जेठ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया