नेपाल 'ए' टोलीमाथि आयरल्यान्ड 'ए' को 'क्लिन स्वीप'

 चैत २५, २०८० आइतबार १६:३९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल 'ए' टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आयरल्यान्ड 'ए' ले 'क्लिन स्वीप' गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल 'ए' लाई ६९ रनले हराउँदै आयरल्यान्ड 'ए' ले शृङ्खला 'क्लिन स्वीप' गरेको हो ।

आयरल्यान्ड 'ए' ले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल 'ए' ३९ ओभर ४ बलमा २ सय १५ रन बनाउँदा अल आउट भयो । नेपाल 'ए' का अर्जुन कुमालले शतक बनाए पनि जितका लागि पर्याप्त भएन । अर्जुन १ सय १८ बलमा १ सय २ रन बनाए । यस्तै अर्जुन साउदले ३६ रन जोडे । नेपालले 'ए' ले २२ रन अतिरिक्त पायो । बलिङतर्फ आयरल्यान्ड 'ए' का बेन ह्वाइटले ५ र गभिन होवेले ४ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड 'ए' ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो । आयरल्यान्ड 'ए' का स्टेफेन डोहेनीले शतक बनाए । डोहेनी १ सय २९ बलमा १ सय ७ रन बनाएर आउट भए । यस्तै पिटर मूरले २५ बलमा ४४ रन जोडे । बलिङतर्फ नेपाल 'ए' का रञ्जित कुमार र रिजन ढकालले समान ३ विकेट लिए ।

एकदिवसीय क्रिकेट शृङ्खलामा आयरल्यान्ड 'ए' ले पहिलो खेल २१ रन र दोस्रो खेल १ सय १४ रनले जितेको थियो । यसअघि नेपाल 'ए' टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड 'ए' ले २–१ ले जितेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया