आशा र सम्भावनाको वर्ष २०८१

 बैशाख १, २०८१ शनिबार ८:२८:५३ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

शनिवारदेखि विक्रम संवत् २०८१ साल शुरु भएको छ । समग्रमा २०८० साल निराशा र अनिश्चयको वर्ष बन्यो । सत्ता समीकरण फेरबदलले राजनीतिमा उथलपुथल ल्यायो । तथ्याङ्कमा अर्थतन्त्र ठिकठाकजस्तो देखिए पनि वास्तविकतामा त्यस्तो देखिएन । सुशासनको क्षेत्रमा देखिएको आशा पनि आशङ्कामा परिणत हुन थाल्यो । यस्ता अनिश्चयहरु यो वर्ष रोकिने कुनै खाश दृष्य त छैन । तर कालो बादलमा चाँदीको घेरा भनेझैं यो वर्ष केही आशालाग्दा अवस्थाहरु भने आउने देखिन्छ । 

अर्थतन्त्र चलायमान् बन्न थाल्ने आशा 

२०८० सालमा अर्थतन्त्र तथ्याँकमा ठिकठाक रहे पनि बजार शिथिल रह्यो । तर २०८१ सालमा बजार चलायमान् हुन थाल्ने सङ्केत देखिएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि माघसम्मको औषत आयातको तुलनामा गएको फागुनमा झन्डै चार अर्ब  रुपैयाँभन्दा बढीको सामान आयात भएको छ । यसले अर्थतन्त्रमा माग र उपभोग बढ्न थालेको सङ्केत गर्छ । व्यवसायीले बजारमा माग खस्किएका कारण अर्थतन्त्र मन्दीमा गएको तर्क गर्दै आएका छन् । फागुनमा मूल्य बृद्धिदर पनि घटेको छ । विश्व बैंकले आउँदो वर्ष नेपालको आर्थिक बृद्धिद्धर ४ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । पर्यटन र जलबिद्युत निर्यातमा सुधार र देशभित्र उपभोग बढ्ने सङ्केत रहेकाले आर्थिक बृद्धी बढ्ने र दुई वर्षदेखी चलिरहेको मन्दी घट्ने चरणमा जाने आशा छ । व्याजदर थप घटेकोले लगानी बढ्ने आशा गर्न सकिन्छ । यहि बैशाखमा हुन लागेको लगानी सम्मेलन, यस वर्ष बजेट निर्माणमा सरकारले व्यक्त गरिरहेको प्रतिवद्धता लगायतका कारण यो वर्ष अर्थतन्त्रमा सुधारको शुरुवात हुने आशा गर्न सकिन्छ । 

पर्यटन व्यवसाय लयमा फर्कने 

२०७६ सालमा शुरु भएको कोरोना माहामारीले पर्यटन व्यवसाय ध्वस्त बनायो । त्यसको दुई वर्षपछि २०७८ सालपछि तंग्रिन थालेको नेपालको पर्यटन व्यवसाय यो वर्ष लयमा फर्कदै नयाँ कीर्तिमान बन्ने विश्वास छ । बितेको मार्च महिनामै सन् २०१९ को मार्च अर्थात कोभिडअघिको बेलामा भन्दा बढी पर्यटक आएका थिए । अहिले चलिरहेको मुख्य सिजनमा पर्यटकको आगमन राम्रो भएकोले कुनै उथलपुथल नआएमा २०८१ साल पर्यटन व्यवसाय पुनरोत्थानको वर्ष हुने निश्चित रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । आन्तरिक पर्यटकको सङ्ख्या पनि बढिरहेको कारण २०८१ साल पर्यटन व्यवसायका लागि उत्साहपूर्ण हुनेछ । 

ठूला परियोजनामा आशा

नेपालको सडकमा, सुरुङ मार्गको युग शुरु हुने भनिएको नागढुंगा सुरुङमार्गको मुख्य सुरुङ केही दिनमै छिचोलिनेछ । सुरुङ हुँदै गाडी चल्न झण्डै डेढ वर्ष लाग्ने भए पनि २०८१ आशाको वर्ष हुनेछ । यस्तै तराई मधेशमा सिंचाई र खानेपानीको लागि महत्वपूर्ण मानिएको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ पनि यही महिना छिचोलिंदैछ । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाले यही वर्षभित्र उत्पादन शुरु गर्ने निर्माण कम्पनीले दावी गरेको छ । प्रशारण लाइन बनिसकेको अहिलेसम्म बनिरहेकोमध्ये नेपालकै ठूलो यो आयोजना कोशी प्रदेशको अर्थतन्त्रका लागि महत्वपूर्ण छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्राथामिकतापूर्ण दावी पूरा भएमा एक हजार दुई सय मेगावाट क्षमताको जलाशयुक्त बुढिगण्डकी जलबिद्युत आयोजना र ६ सय ३५ मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना यसै वर्ष शुरु हुनेछन् । यी आयोजना नेपालमा हिउँदमा बिद्युत उपलब्ध गराउन महत्वपूर्ण हुनेछन् ।सरकारले पोखरा जोड्ने पृथ्वी राजमार्ग तथा पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड, राजधानी काठमाण्डौ जोड्ने नागढुङ्गा–मुग्लिन–र मुग्लिन–नारायणगढ सडक खण्डको विस्तारको काम यहि बर्ष सक्ने दावी गरेको छ । 

शिक्षामा सुधारको वर्ष 

२०८१ साल शिक्षामा सुधार हुने आशा गर्न सकिन्छ । शैक्षिक सत्र शुरु नहुँदै सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । शिक्षक सेवा आयोगले प्रतिस्पर्धाबाट हुने पदपुर्तीलाई नियमित बनाएको छ । पालिकाहरुले सामुदायिक बिद्यालयमा लगानी र अनुगमन दुबै बढाएका छन् । प्रतिनिधि सभामा रहेको विद्यालय शिक्षा बिधेयक २०८० यो वर्ष पारित हुनेछ । बितेका केही बर्षदेखी थालनी गरेका यी प्रयासहरुले सार्थक रुप लिन थालेका र अहिले शिक्षा मन्त्रालयमा रहेको नेतृत्वप्रतिको आशाका कारण पनि २०८१ साल नेपालको शिक्षा सुधारको एउटा महत्वपूर्ण वर्ष हुने आशा गर्न सकिन्छ । 

धेरै कानुन बन्ने वर्ष 

संसदले बितेको तीन अधिवेशनमा चारवटा विधेयक मात्रै पारित गरेको छ । अहिले प्रतिनिधि सभामा २३ र राष्ट्रिय सभामा एक गरी २४ वटा बिधेयक विचाराधीन छन् । यस्तै आठ वटा विधेयक मन्त्रालयहरुमा तर्जुमा सहमतिको क्रममा छन् । सङ्घीयता कार्यान्वयन सम्बन्धी अध्ययनले एक सय १७ वटा बिधेयक बनाउनुपर्ने पहिचान गरेकोमा सरकारले ६३ वटालाई पहिलो प्राथमिकतामा राखेको छ । ६३ वटै बिधेयक पारित गर्ने सरकारको दावी रहे पनि कम्तीमा विचाराधीन विधेयक मात्रै पारित भएमा पनि वर्ष २०८१ धेरै कानुन तयार हुने वर्ष बन्नेछन् । यो वर्ष महत्वपूर्ण मानिएका संघीय निजामती सेवा विधेयक र बिद्यालय शिक्षा बिधेयक पारित हुने आशा छ । यि दुई विधेयक र प्रहरी समायोजन पूरा भएमा यो वर्ष सङ्घीयता कार्यान्वयनका लागि महत्वपूर्ण वर्ष बन्नेछ । यसरी २०८१ साल केही क्षेत्रमा विशेष बन्ने आधारहरु छन् । तर यी सबै कामलाई देशको राजनीतिले धेरै प्रभाव पार्छ । २०८० सालमा जस्तै यो वर्ष पनि अस्थिरता, अन्योल र अलमलमा समय खेर नफालेमा केही सुखद खबरहरु आउनेछन् । प्रविधिमैत्री बन्दै गएका सार्वजनिक कार्यालयहरु थप प्रविधिमैत्री र चुस्त बन्ने, इन्धनको रुपमा हुने बिद्युतीय प्रयोग बढ्ने लगायतका सकरात्मक आशाहरु यो वर्ष गर्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया